काठमाडौं । आज विश्व कलेज दिवस । यस वर्ष ‘सतर्क रहनुहोस्, नियमित कलेजो जाँच गराउनुहोस् र फ्याटी लिभरबाट बच्नुस्’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवद्र्धनबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल १९ मा यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा कलेजको महत्वबारे मानिसहरूलाई शिक्षित गराउनुका साथै कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्ने गरिन्छ ।
कलेजो मानव शरीरको महत्वपूर्ण अङ्ग मानिन्छ । कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन दिनुपर्ने विज्ञहरुको भनाइ छ । वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा डा युवराज शर्मा भन्छन्, ‘कलेजोले शरीरमा निकै महत्वपूर्ण भूमिका खेल्छ । यसले पाचन प्रणालीदेखि शरीरलाई आवश्यक विभिन्न तत्व निर्माण गर्छ । विकार तत्वलाई शुद्धीकरण गर्छ । राम्रो खानपिन र रहनसहनबाटै कलेजो स्वस्थ राख्न सकिन्छ ।’
धेरै चिल्लोपदार्थ सेवन नगर्ने, नियमित व्यायाम गर्दा कलेजोमा बोसो जम्न सक्दैन । कलेजोमा बोसो बढ्नुलाई ‘फ्याटी लिभर’ भनिन्छ । नेपालमा अधिकांश कलेजोको समस्या हुनेमा अधिकांश कारण अत्यधिक मदिरा सेवन हुने गरेको पाइएको छ । त्यसैगरी हेपाटाइटिस ‘बी’ र ‘सी’को सङ्क्रमण, अनुवांशिक कारणले पनि कलेजोको समस्या देखिने गरेको चिकित्सकहरुको भनाइ छ ।
डा शर्मा भन्छन्, ‘मदिराजन्य पदार्थले सबैभन्दा धेरै कलेजोमा क्षति गरेको देखिन्छ । बच्चाहरुलाई हेपाटाइटिस भाइरसको सङ्क्रमणविरुद्ध खोप लगाउनुपर्छ । अनुवांशिक कारणले निम्तिने समस्या पनि छ ।’ उनले वर्षमा कम्तीमा एकपटक कलेजोको अवस्था ठीक छ वा छैन भनेर लिभर फङ्सन टेस्ट(एलएफटी)गराउन सुझाव दिएका छन् ।
नेसनल हेल्थ सर्भिस (एनएचएस) युकेका अनुसार कलेजोमा समस्या आयो भने खानामा अरुचि हुने, वाकवाकी लाग्ने, शरीर कमजोरी महसुस हुने, बिरामी भइराख्ने लक्षण देखा पर्छन् । समस्या बढ्दै जाँदा जन्डिसको लक्षण जस्तै आँखा पहेँलो हुने, छाला पहेँलो हुने समस्या देखिन्छ । छ महिनाभन्दा बढी लगातार कलेजोमा समस्या भएमा ‘क्रोनिक लिभर डिजिज’ हुनसक्ने डा. शर्मा बताउँछन् । ‘यसले गर्दा पेटमा पानी आउने, पेटको आमाशयमा नसा फुल्ने, नसा फुटने, रगत बान्ता हुने, दिसामा रगत जाने, छालामा विभिन्न प्रकारका दाग देखिन्छन्,’ उनले भने ।
कलेजोले काम नै नगर्ने अवस्थामा पुग्यो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने भएकाले मधुमेह र कोलेस्ट्रोलका बिरामीहरुले नियमित जाँच गराइराख्नुपर्ने उनले बताएका छन् ।
FACEBOOK COMMENTS