सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ बमोजिम नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिशमा आज मन्त्रिपरिष्दको गठन तथा कार्यविभाजन गरेका छन् ।
कार्यविभाजन अनुसार कमलबहादुर शाह मुख्यमन्त्री, आन्तरिक मामिला, उद्योग पर्यटन वन तथा वातावरण, भूमिव्यवस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्री, प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास तथा नरेशकुमार शाही आर्थिक मामिला मन्त्री तोकिएका छन् ।
मुख्यमन्त्री शाहले पहिलो चरणमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्यलाई समटेर मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री देउवा गत निर्वाचनमा कैलाली क्षेत्र नं ५ तथा आर्थिक मामिला मन्त्रीमा नियुक्त शाही बाजुरा जिल्लाबाट प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । प्रदेश प्रमुखको कार्यालय धनगढीमा आजै आयोजित समारोहमा प्रदेश प्रमुख जोशीले नवनियुक्त मुख्य मन्त्री र अन्य मन्त्रीलाई छुट्टाछुट्टैरुपमा पद तथा गोपनीयताको सपथ गराए ।
यसैबीच मुख्यमन्त्री शाहले आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरे । पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्ययोजना समिति गठन भएको र समितिले ३० दिनभित्र दिने प्रतिवेदनका आधारमा भ्रष्टाचार नियन्त्रणको योजना अघि बढ्ने पहिलो निर्णय गरिएको जानकारी दिए ।
पत्रकारको जिज्ञासामा मुख्यमन्त्री शाहले जनताले महशुस हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । अर्को प्रसङ्गमा उनले आफ्नो नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत पाउनेमा ढुक्क भएको बताए । भौतिक पूर्वाधार विकास मन्त्री र आर्थिक मामिला मन्त्रीले पनि आजै मन्त्रालय पुगेर आफ्नो पदभार ग्रहण गरे ।
प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाहलाई प्रदेशको मुख्यमन्त्रीमा बिहीवार रनियुक्त गरेका थिए ।
५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका सभामुख वाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।
FACEBOOK COMMENTS