सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनका विषयमा आज धनगढीमा बसेको बैठकमा मुख्यमन्त्रीले अहिलेको अवस्थामा खाना पकाउने ग्याससहितको पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुनसक्ने सम्भावनालाई गम्भीर रुपमा लिई यस्तो कार्य गर्नेलाई कानुन बमोजिम कारबाही गर्नसमेत निर्देशन दिए ।
बैठकले खाना पकाउने ग्यासलगायतका पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनको अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमन तथा आपूर्ति व्यवस्थालाई नियमन गर्न सरोकारवाला सरकारी निकायलाई व्यावसायिक सङ्घ संस्था, उपभोक्तावादी सङ्घ संस्थालगायतले आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख लक्ष्मीप्रसाद जैसीले सुदूरपश्चिममा हालसम्म खाना पकाउने ग्यास अभाव नरहेको जानकारी दिए । उनले भने, “डिजेल, पेट्रोलको आपूर्ति व्यवस्था आजसम्म सहज नै छ, अहिलेको अवस्थामा खाना पकाउने आधा सिलिन्डर ग्यास बिक्री गर्नुपर्ने सरकारी नीति भए पनि सुदूरपश्चिममा ग्यास अभाव छैन ।”
FACEBOOK COMMENTS