काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसर पारेर राप्रपा नेपाल राजनीतिक विभागले आज बिहीबार आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
‘राजाको यतिमात्रै चाहना रहेको छ । देश र जनतालाई बचाउन फेरि एक पटक राजा र जनताबीचमा साझेदारीको आवश्यक छ । राजाले फेरि निरङ्कुश व्यवस्था र राजासंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन,’ उनले भने, ‘राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु् ।’
पूर्वराजा ज्ञानेन्द्रबाट देशवासीलाई सन्देश दिँदै मार्मिक ढंगबाट परिस्थितिको चित्रण भएको सन्देश आएको बताउँदै थापाले उक्त सन्देशलाई सबैले मनन् गर्न आवश्यक रहेको बताए । राजाको सदासयतालाई नकारात्मक रुपमा लिन र टीकाटिप्पणी गर्न आवश्यक नभएको भन्दै थापाले राजाको भनाई प्रजातन्त्र, दल र नेताको विरुद्धमा नभइ मुलुकको समस्याप्रतिको चिन्ता मात्र भएको दाबी गरे ।
कसैलाई निषेध नगरी सबै अटाउने प्रणाली आवश्यक भएको चर्चा गर्दै थापाले राजा ज्ञानेन्द्रको सन्देश अत्यन्तै सकारात्मक रुपमा ग्रहण गर्दै यो प्रस्ताव साकार पार्न राप्रपा नेपाल तयार रहेको र जनदबाब सृजना गर्ने काममा क्रियाशील बन्ने समेत उद्घोष गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आफ्नो तर्फबाट शुभकामना सन्देश जारी गर्ने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले आफू पुनः राजगद्दीमा फर्किने सोचमा रहेको स्पष्ट सङ्केत गरेका थिए । सोही अभिव्यक्तिलाई पूर्व गृहमन्त्री समेत रहेका थापाले सकारात्मक रहेको टिप्पणी गरेका हुन् ।
शुभकामना सन्देशमा ज्ञानेन्द्र शाहले भनेका थिए, ‘राष्ट्र जोगाउने र राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्छौं ।’ यस्तै उनले विगतका कमी–कमजोरी तथा आफ्नो प्रकृति र संस्कृतिविरुद्धका त्रुटि सच्याएर अघि बढ्ने चेतना आफूहरूलाई प्राप्त होस् भन्दै तत्कालीन समयमा सत्ता हातमा लिनु गल्ती भएको जनाउ पनि दिएका छन् । यद्यपि, जनताको भलो होस् भनेर आफूले गद्दी त्यागेको स्पष्ट पार्दै उनले यसलाई कमजोरी नठान्न दलहरुलाई चेतावनी दिएका छन् ।
‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिका लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौं’, पूर्व राजा शाहले भनेका छन्, ‘राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्छ । राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं । हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुखसुविधालाई पनि त्याग गरेका हौं । त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन ।’
कसैलाई काखापाखा र पक्षविपक्ष नगरी देश चलाउने आफ्नो अभिलाषा सुनाउँदै ज्ञानेन्द्रले गद्दी त्यागको अर्थ र आशय पनि त्यही हो भनेका छन् । इतिहासको नाश र पहिचानको अपमान गरेर देश उँभो नलाग्ने उनको निष्कर्ष छ ।
FACEBOOK COMMENTS