काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा राजावादीलाई जेल हालेर देखाउन चुनौती दिएकोमा उनलाई स्याबासी दिएका छन् ।
लिङ्देनले आज आइतबारको प्रतिनधिसभा बैठकमा आफूहरू राजावादी भएको भन्दै जेल हालेर देखाउन चुनौती दिएका थिए ।
उनले छाती पिट्दै भनेका थिए, ‘हो, हामी राजावादी हौँ । कसले हाल्छ जेल ?’
संसद्मा उनले दिएको यो चुनौतीको तारिफ गर्दै अध्यक्ष थापाले आफू पनि राजावादी भएको भन्दै जेल हालेर देखाउन चुनौती दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लिङ्देनको चुनौती उद्धृत गर्दै लेखेका छन्, ‘ स्याबास ! राप्रपा अध्यक्ष भाइ राजेन्द्र लिङ्देन ! हामी पनि भन्छौँ- राजावादी यहाँ छ, सके जेल हाल !’
आइतबार बिहान ११ बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दलहरूबीच प्रधानमन्त्रीले सम्बोधन गर्ने विषयमा सहमति जुट्न नसक्दा ढिला गरी सुरु भएको थियो । दिउँसो सवा एक बजे सुरु भएको बैठक पनि विपक्षीहरूका अवरोधले धेरैबेर चल्न सकेन ।
विपक्षीहरूले खासगरी नेपाल विद्युत् प्राधिकरणकाको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्ने माग गर्दै संसद् अवरोध गरिरहेका हुन् । तर, प्रधानमन्त्री ओलीले भने केही दिनअघि नै सार्वजनिक कार्यक्रममै यसबारे आफूले संसद्मा जवाफ दिन आवश्यक नरहेको बताइसकेका छन् ।
FACEBOOK COMMENTS