काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा निषेधाज्ञाविरुद्ध रिट बोकेर सर्वोच्च अदालत पुगेका छन् ।
राजावादी आन्दोलनलाई लक्षित गरी सिङ्गो काठमाडौं महानगरपालिकालाई नै निषेधित क्षेत्र घोषणा गरेर आफूहरूको आवाजमा प्रतिबन्ध लगाउन खोजेको भन्दै आफू सर्वोच्च अदालत पुगेको उनले बताएका छन् ।
तर, उनको रिट निवेदन सर्वोच्चले दर्ता गर्न मानेको छैन । न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ भन्दै अध्यक्ष थापाले माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्चले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको तर सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि तयार नभएको गुनासो गरेका छन् ।
आफू सर्वोच्च गएको र रिट निवेदन दर्ता नगरेकोबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘थरीथरीको न्याय ! माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्च अदालतले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको थियो । तर, सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि सर्वोच्च अदालत तयार भएन । न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ ।’
राजवादीहरुको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौरबाहेक अन्य स्थानमा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ ।
सरकारको उक्त कदमविरुद्ध राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल भनेर चिनिने भद्रप्रसाद नेपालले रिट दायर गर्न खोजेको थिए । तर सो रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि पूर्वगृहमन्त्री समेत रहेका कमल थापाले दुःख व्यक्त गरेका हुन् ।
पछिल्लो समय थापा समितिको मातहतमा रहेर राजावादी प्रदर्शनमा सहभागी हुँदै आएका छन् ।
FACEBOOK COMMENTS