काठमाडाैँ । हाल नेपालमा सौन्दर्यकला व्यवसायीहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । अहिले सहरी क्षेत्रका महिलाहरु मात्र नभई ग्रामिण क्षेत्रका महिलाहरु समेत यसतर्फ आकर्षित हुन थालेका छन् । नेपालमा सौन्दर्यप्रतिको आकर्षण बढ्दै गएसँगै यससँग सम्बन्धित व्यवसायको महत्व पनि बढ्दै गएको बुझ्न सकिन्छ । यही कुरालाई मध्यनजर गर्दै विगत १५ वर्ष पहिले यसको छाता संगठन सौन्दर्यकला व्यवसायी महासंघको गठन भएको थियो । सौन्दर्यकला व्यवसायीहरुको हक र हितका लागि समेत काम गर्दै आएको यस संस्थाले हाल के काम गरिरहेको छ, यसको महत्व किन छ लगायतका विषयमा कर्पाेरेटकर्मी उज्ज्वलजंग शाहले संघका अध्यक्ष कमला श्रेष्ठसँग गरेको कुराकानी :
अहिले समग्र संघको अवस्था के छ ?
सौन्दर्यकला व्यवसायी संघ खडा गर्दा पाँचवटा विकास क्षेत्र थियो । पाँच विकास क्षेत्रबाट सातवटा प्रदेशमा जाँदा विधान परिवर्तन गर्नुपर्ने अवस्था आयो । प्रदेशमा गइसकेपछि हामीले प्रदेशलाई नै समावेश गरेर सात प्रदेश भनेर उल्लेख गरेका छौँ । यहीअनुरुप हामीले सातैवटा प्रदेशमा गएर काम गर्दै आएका छौँ । समग्रमा संस्थाको अवस्था पहिलेको भन्दा धेरै नै राम्रो छ ।
तपाईं संघको नेतृत्वमा फेरि दोहोरिनुभएको छ, यसलाई किन आवश्यकता ठान्नुभयो ?
म अहिले पाँचौंपटक संघको नेतृत्व समाल्न बाध्य भएकी छु । यो मेरा लागि आवश्यकता र बाध्यता दुवै हो । स्थापना कालदेखि अहिलेसम्म मैले नै नेतृत्व सम्हाल्दै आएकी छु । यसका पछाडि धेरैवटा कारणहरु छन् । एक त कुनै पनि क्षेत्रमा बोल्ने भन्दा काम गर्ने व्यक्तिको आवश्यकता पर्छ । म स्वयं संस्थापक भएको हिसाबले यो संस्थालाई अझ माथि लैजान आवश्यक ठानेर मलाई नै साथीहरुले आवश्यक ठान्नुभयो । सो अर्थमा पनि मेरो नेतृत्व दोहोरिरहेको छ ।
हालसालै हामीले चितवनको नारायणघाटमा १५ औं साधारणसभा पनि मनायौं । खुसी यस अर्थमा छौं कि साधारणसभामा सातै प्रदेशका व्युटिसियनहरुको सहभागिता थियो । आगामी दिनमा पनि व्यवस्थित र अनुशासित भएर जुन उद्देश्य र आकांक्षाले आएका छौँ, त्यही अनुरुप सबैलाई समेटेर जाने हाम्रो प्रतिवद्धता छ र त्यसलाई पालना पनि गर्दै आएका छौँ । हामीले जुन उद्देश्यले संस्था खोलेका थियौँ, त्यसलाई बुझेर, मनन गरेर विधि र विधानलाई अवलम्बन गरेर संगठित र व्यवस्थित रुपमा अगाडि बढ्न पनि हामीले सबैलाई अनुरोध गर्दै आएका छौँ । महाधिवेशन सम्पन्न भएसँगै हामीमा नयाँ उर्जा थपिएको पनि महसुस गरेका छौँ ।
संघले १५ औं साधारणसभा मनाइरहँदा अहिले कुन अवस्थासम्म आइपुगेको छ र व्यक्तिगत रुपमा कत्तिको आत्मसन्तुष्ट हुनुहुन्छ ?
संस्था खोल्नु अगाडि र पछिमा त व्यापक परिवर्तन भइसक्यो । सर्वप्रथम त परिवर्तन कुन हिसाबमा पनि आयो भने एक त मैले व्यवसाय थालेको नै ४५ वर्ष भइसक्यो, त्यो हिसाबमा परिवर्तन त भइहाल्छ । पहिलेको दाँजोमा अहिले व्यवसायीहरु धेरै नै अगाडि बढिसक्नुभयो । हाल व्यवसायीहरुले यसमा अवसर र भविष्य दुवै देख्नुभएको छ । यसमा न त लिंगको विभेद नै छ, न त शिक्षाको तह नै आवश्यक छ, न त उमेरको सीमा नै । आफूमा इच्छाशक्ति छ भने यो व्यवसाय जो कोहीले जहिले पनि सञ्चालन गर्न सक्छन् । सौन्दर्य व्यवसाय जुन उद्देश्यले खडा भएको थियो, त्यो धेरै हदसम्म माथि पुगेको छ ।
चिया पसलको छाता संगठन भइसकेको अवस्थामा सौन्दर्यकला व्यवसायीको संगठन हुनु सामान्य कुरा हो । हाल ७७ वटै जिल्लामा संगठन विस्तार भइसकेको अवस्थामा यसलाई संगठित र मर्यादित बनाउनको लागि पनि हामी एकजुट हुनुपर्छ है भन्ने उद्देश्यले हामीले सुरुवात गरेका हौँ । सुरुवातका दिनमा हामीलाई हाम्रो उद्देश्यबारे स्पष्ट पार्न धेरै नै चुनौतीको सामना गर्नुपर्याे । हामी गाउँगाउँ, नगरनगरसम्म दौडनपर्याे । तर जब विस्तारै–विस्तारै यसले जति काम गर्दै गयो, हरेकमा यो सफल पनि हुँदै गयो । सफल हुँदै गएको परिणामले नै यसबाट सबै जना सन्तुष्ट पनि भए । हामी संगठित थिएनौं भने हाम्रो आवाज कसैले पनि सुन्ने थिएन् । कुनै व्यक्ति एक्लै जानु र छाता संगठन जानुमा धेरै परिवर्तन रहेछ भन्ने कुरा सबैलाई अनुभव भइसकेको छ । त्यसको उदाहरणको रुपमा हामीले सुरुवाती दिनलाई पनि लिन सक्छौँ । सुरुमा यस संघमा एकदमै थोरै जिल्ला र सदस्यहरु थिए भने अहिले सबैजना यसमा जोडिन खोज्नुहुन्छ ।
पुरा भिडिओ हेर्नुहोस् :
FACEBOOK COMMENTS