काठमाडौं । थापाथलीस्थित प्रसुतिगृहमा पाठेघरको अप्रेशन (शल्यक्रिया) गराएकी कमलादेवी कैनीले स्वास्थ्य मन्त्रालयको ढोकामा गएर आत्महत्या गर्ने चेतावनी दिएकी छिन् ।
पाठेघरको अप्रेशन गर्दा डाक्टरले अञ्जानमा दुवै पिसाबनली काटिदिएपछि विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिरहेकी कैनीले आफ्नो आर्थिक अवस्थाले स्वास्थ्योपचार गर्न सम्भव नरहेको भन्दै अब अस्पतालले उपचारमा सहयोग नगरे मर्नुको विकल्प नरहेको र मर्नुपरे स्वास्थ्य मन्त्रालयको ढोकामा गएर आत्महत्या गर्ने चेतावनी दिएकी हुन् ।
‘यतिबेला मलाई भात खान समस्या भइरहेको बेलामा तपाईँको लाहरबाहीले गरेर पाँचचोटी काटिएको मेरो घाउलाई शान्त पार्न सिटामोल किन्न सकिरहेकी छुइन । यस्तो अवस्थामा मैले थप उपचार र अप्रेशन कसरी गर्ने ? मेरो किड्नीको उपचार कसरी गर्ने ? मैले मर्नुपर्छ भने अब स्वास्थ्य मन्त्रालयको बाहिर गएर मर्छु । मेरो केही विकल्प रहेन,’ उनले रुँदै भनिन् । अस्पताल र डाक्टरहरूको कमजोरीका कारण आफ्नो स्वास्थ्य अवस्था नाजुक बनेको भन्दै उनले बाँकी उपचार अस्पतालले निःशुल्क गरिदिनुपर्ने माग उनको छ । तर, अस्पतालले कुनै प्रकारको उत्तरदायित्व नलिएकोमा उनी निकै दुःखी पनि छिन् ।
भएको के हो ?
पीडित कैनीले हिजो बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार पाठेघरमा देखिएको समस्या निर्मुल गर्न प्रसुतीगृहमा शल्यक्रिया गरिएको थियो । त्यसक्रममा डाक्टरले दुवै पिसाब नली काटिएका रहेछन् । पाठेघरको अप्रेशन गर्ने जिम्मा सिकारु डाक्टरलाई दिँदा उक्त घटना भएको उनको आरोप छ ।
घटनापछि अस्पतालले जिम्मेवारी नलिएको र उल्टै अमानवीय व्यवहार गरेकोमा दुःख व्यक्त गर्दै उनले भनिन्, ‘सिकारु डाक्टरलाई मेरो अप्रेशन गर्न दिएर दुईवटै किड्नीबाट पिसाब नली छुटाइदिनुभयो । अप्रेशनको दुई दिनपछि मेरो ढाड सुन्नियो । सास फेर्न गाह्रो भएको अवस्था थियो । मेरी छोरीले ममीलाई सास फेर्न समस्या भयो, ढाड सुन्निएको छ भनेपछि डा. टुसार जैसीले ग्याष्ट्रिक भएको छ भन्नुभयो ।’
पाठेघरको अप्रेशन गरेको चार दिनपछि अवस्था एकदमै नाजुक हुँदै जाँदा पनि आफूलाई अस्पतालले जबरजस्ती घर पठाएको उनले सुनाइन् । आफूलाई झनै गाह्रो हुँदै गएपछि फेरि अस्पताल गएर सीटीस्क्यान गरेर हेर्दा अप्रेशनको क्रममा दुवै पिसाब नली काटिएको पत्ता लागेको उनले बताइन् । त्यसपछि पाठेघरको भन्दा पनि ठूलो अप्रेशन गर्नु परेको जानकारी उनले दिइन् ।
अप्रेशनपछि झन् समस्या बढेको बताउँदा आफ्नी छोरीलाई डा. श्रीप्रसाद अधिकारीले डाक्टरसँग पङ्गा नलिन चेतावनी दिएको उनको आरोप छ । आफ्नो उपचारका क्रममा अस्पतालले लापरबाही गरेको उनको आरोप छ । उनले आफ्नो अप्रेशनपछि आईसीयूमा समेत नराखिदिएको बताएकी छिन् ।
साथै, अप्रेशन गरेको घाउमा लो क्वालिटीको टाँका लगाइदिँदा घाउ पूरै पाकेको उनको भनाइ छ । डाक्टरहरूको लापरबाही अर्को अप्रेशन गर्नुपरेको भए पनि आफैंले खर्च व्यहोर्नुपरेको उनले गुनासो सुनाइन् । पटक–पटकको अप्रेशन र लापरबाहीले गर्दा अहिले किड्नीमा समेत समस्या देखिएको उनको भनाइ छ ।
यस्तो अवस्थामा अस्पतालले कुनै प्रकारको उत्तरदायित्व नलिएको उनको भनाइ छ । अब अस्पतालले आफ्नो उपचारमा सहयोग नगरेको खण्डमा मर्नुको विकल्प नरहेको उनले बताइन् ।
FACEBOOK COMMENTS