काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवालले स्थायित्वविना निजी क्षेत्रले जोखिम लिन नसक्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आज बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’बारे सर्वपक्षीय राष्ट्रिय सम्वाद कार्यक्रममा उनले युवाको भरोसा र लगानीको आधार राजनीतिक र नीतिगत स्थायित्वबाट मात्र प्राप्त हुन सक्ने भन्दै स्थायित्वबिना निजी क्षेत्रले जोखिम लिन नसक्ने बताएका हुन् ।
‘स्थायित्वबिना निजी क्षेत्रले जोखिम लिन सक्दैन,’ अध्यक्ष अग्रवालले भने, ‘स्थायित्वबिना युवाले देख्ने सपना दिगो हुन सक्दैन त्यसका लागि राजनीतिक स्थायित्व र संस्थागत शुसासनको संरचना बलियो हुनुपर्दछ ।’
यस्तै, उनले आर्थिक नीतिगत स्थायित्व भए निजी क्षेत्रलाई भरोसा बढ्ने मात्र नभइ अन्तर्राष्ट्रिय समुदायको विश्वास समेत वढ्ने विश्वास व्यक्त गरे । त्यसकारण नेपाललाई अस्थिर नीतिहरू होइन नीतिहरूको निरन्तरता र नीतिगत स्पष्टता आवश्यक रहेको उनको भनाइ छ ।
अध्यक्ष अग्रवालले स्थायित्व, समृद्धि, निजी क्षेत्र र सरकारको नीतिबीच तालमेल हुँदा मात्रै मुलुकले समृद्धिको बाटो समाउन सक्ने स्पष्ट गरे । सरकार प्रमुख, राजनीतिक दल, निजी क्षेत्र र युवा पुस्ता सबैको सहकार्यबाट मात्रै मुलुकमा स्थायित्व कायम हुने र समृद्धिको कल्पना गर्न सकिने उनको धारणा छ ।

उनले सरकारले नीतिगत नेतृत्व दिनुपर्ने, राजनीतिक दलहरू राजनीतिक स्थायित्वप्रति प्रतिवद्ध हुनुपर्ने, नीजी क्षेत्रले लगानी नवप्रवर्तन र रोजगारी सृजना गर्नेपर्ने, कर्मचारीहरूले नीति र व्यवहारबीचको दूरी घटाउनुपर्ने, सबै मिलेर आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुपर्नेमा जाड दिए ।

सबैले जिम्मेवारीबोध गरेर काम गरे नेपालमा स्थायी शान्ति आउने, स्थायित्व बलियो हुने र समृद्धि अपरिहार्य हुने विश्वास उनले व्यक्त गरेका छन् ।

FACEBOOK COMMENTS