काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक क्षेत्रमा क्रियाशील व्यक्ति–व्यक्तित्वहरूका लागि कुनै पनि अवार्ड सामान्य कुरा नभएको बताएका छन् ।
हिजो आइतबार होटेल ह्यात प्लेसमा कर्पोरेट मिडिया ग्रुपले आयोजना गरेको १६औँ संस्करणको ‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ लाई सम्बोधन गर्ने क्रममा उनले अवार्ड पाउनेका लागि सम्मान र अन्यका लागि उत्प्रेरणा हुने भन्दै आर्थिक क्षेत्रका लागि ‘कर्पोरेट बिजनेस अवार्ड’ सामान्य कुरा नभएको बताएका हुन् ।
‘अवार्ड सामान्य कुरा होइन, पाउनेका लागि रिकग्नेशन हो भने आगामी अवार्ड आफूले पाउनुपर्छ भनेर सबैका लागि इन्स्पिरेसन पनि हो । त्यसकारण यो मोटिभेसन हो । यसकारण कर्पोरेट अवार्ड बिजनेस क्षेत्रका लागि ठूलो महत्वको विषय हो,’ उनले भने । आर्थिक शिथिलताको बेलामा उद्यमी व्यवसायीलाई मोटिभेसन गर्ने काम गरेकामा वरिष्ठ उपाध्यक्ष अग्रवालले कर्पोरेट मिडियालाई धन्यवाद दिएका छन् ।
यस्तै, उनले ‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ समारोहमा आउँछु भनेर पनि बिनासूचना नआउनुभएका अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्र निजी क्षेत्रलाई उपेक्षा गरेको बताएका छन् । ‘राज्यले आर्थिक क्षेत्रलाई फेरि पनि नेग्लेट गरेको महसुस आज फेरि मैले गरेँ । हामी बारम्बार भन्दै आइरहेका छौँ कि राज्यले आर्थिक क्षेत्रलाई महत्व दिइरहेको छैन । आज पनि यहाँ माननीय अर्थमन्त्रीज्यू आउने भन्नुभयो तर यत्रोबेरसम्म कुर्दा पनि आउनुभएन,’ अग्रवालले भने, ‘हो मानिसको जीवनमा कुनै पनि अवस्थामा अनेबल सर्कमस्टेन्थ आउन सक्छ, तर त्यसको उचित व्यवस्थापन गर्नुपर्छ । त्यो मैले कमी महसुस गरेँ ।’
यसैगरी उनले राज्यले कुशल व्यवस्थापन नगर्दा अहिले मुलुकले आर्थिक शिथिलताको अवस्था भोग्नु परिरहेको बताए । ‘२०७६/०७७ देखि कोभिड सुरू भएको थियो । त्यसअघि हाम्रो औषत ७ प्रतिशत जीडीपी ग्रोथ थियो । कोभिडमा लकडाउन हुँदाखेरि हामी नकारात्मक २.९ प्रतिशततिर झर्यौँ । तर, कोभिडपछि राज्यले राम्रो व्यवास्थापन गर्दा पहिलो वर्षमा नै हामीले ३ प्रतिशतको हाराहारीमा ग्रोथ गर्यौँ भने त्यसलाई पछि ५ प्रतिशतसम्म पुर्याउन सक्यौँ,’ उनले भने, ‘तर त्यसबेला आएको सङ्कुचित मौद्रिक नीतिले सङ्कुचित वित्त नीति ल्यायो । फलस्वरुप गत वर्ष हामी १.६ प्रतिशत र अहिले पनि ३ प्रतिशत पुग्छौँ कि पुग्दैनौँ भन्ने कुरा अनिश्चित छ । यसकारण राज्यले कुशल व्यवस्थापनका साथ आर्थिक गतिविधि विस्तार गर्ने नीति लियो भने आर्थिक गतिविधि राम्रो हुन्छ । गलत नीति लियो भने अहिलेको अवस्था भोग्नपर्छ भन्ने कुरा यही तथ्याङ्कबाट पुष्टि हुन्छ ।’
उनले निजी क्षेत्र एक भएर कठोर कदम नचाले विद्यमान समस्याबाट मुक्ति पाउन गाह्रो भन्दै सबै मिलेर यसबाट मुक्ति पाउने प्रयासमा लाग्नुपर्ने धारणा व्यक्त गरे । समयमै आर्थिक सङ्कटबाट मुक्ति पाउन नसके सर्वसाधारण युवायुवती मात्र नभइ उद्यमी व्यवसायी नै पलायन हुनुपर्ने अवस्था आउने उनको भनाइ छ ।
‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ सम्पन्न, विभिन्न उद्योगी–व्यवसायीलाई गरियो सम्मान (सूचीसहित)
लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?
निजी क्षेत्रको मनोबल गिरेको बेला कर्पोरेट बिजनेश अवार्डले उत्साहित बनाएको छ : प्रदीप श्रेष्ठ
राज्यबाट प्रताडित उद्योगी–व्यवसायीलाई कर्पोरेट अवार्ड ‘सञ्जीवनी’ हो : अञ्जन श्रेष्ठ
मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’, को हुन् मोहनमान जोशी ?
FACEBOOK COMMENTS