काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले महिला सशक्तीकरणका लागि बजेट छुट्टयाउन नसकिए अहिले अन्तर्राष्ट्रिय महिला दिवस मनाएको सार्थक नहुने बताएका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवस २०२४ को अवसरमा आज नेपाल महिला चेम्बरले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उनले ‘इन्भेष्ट इन ओमन : एक्सालरेट प्रोग्रेस’ नारा दिएर मनाइएको नारी दिवस बजेट नछुट्टयाउँदासम्म सार्थक नहुने बताएका हुन् ।
‘यूएनले दिएको नारा ‘इन्भेष्ट इन ओमन : एक्सालरेट प्रोग्रेस’ हो । यो नाराले विश्वभरि नै नारीलाई पुरुषले डोमिनेट गरेको देखाउँछ । हाम्रो नेपालमा मात्र होइन । यदि त्यो हुँदैनथ्यो भने राष्ट्र संघबाट यस्तो नारा आउने नै थिएन,’ वरिष्ठ उपाध्यक्ष अग्रवालले भने, ‘महिलामाथि इन्भेष्टको नारा त लगाइयो, तर के नेपाल सरकारले महिलाको क्षेत्रमा बजेट छुट्टयाउन सक्छ ? मलाई लाग्दैन अहिलेको अवस्थामा छुट्याउन सक्छ । खाली उहाँहरू नारामात्रै लगाइरहनुहुन्छ । यो वर्ष महिला दिवसमा आएको नारालाई आधार मानेर चेम्बर अफ कमर्श र हामी सबै मिलेर यौनिकताको कुरा अगाडि सारेर केही बजेट छुट्टयाउन लगाउन सफल भइयो भने मात्रै यो दिवस मनाएको सार्थक हुन्छ ।’
उनले महिलाका धेरै अधिकार विद्यमान संविधानले सुनिश्चित गरेको भए पनि कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । ‘महिलाको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृति अधिकार संविधानबाटै सुरक्षित गरिएको छ, तर कार्यान्वयन भएको छैन,’ उनले भने, ‘अब त्यो कार्यान्वयनको अवस्थातिर लाग्नुपर्छ । सम्पत्तिमा महिलाको समान अधिकारको प्रत्याभूति गरेको छ । महिलालाई सम्पत्तिमा कर छूट दिएर मात्रै पूर्ण अधिकार पाएको मानिँदैन ।’
यस्तै, वरिष्ठ उपाध्यक्ष अग्रवालले रुढीवादी चिन्तन र मान्यताले नेपाली समाजमा जरा गाढेको र त्यसलाई चिर्न महिला चेम्बरले पनि धेरै काम गर्न जरुरी रहेको उल्लेख गरे । चेम्बरले विभिन्न तालिम तथा गोष्ठीहरू आयोजना गर्दै आएको र अझै महिलालक्षित धेरै कार्यक्रमहरू गर्नुपर्ने सुझाव दिए । महिलामा क्षमताको कुनै कमी नभएको भन्दै उनले उनीहरूलाई कसरी अगाडि बढाउने भन्नेतिर सबै लाग्नुपर्नेमा जोड दिए । महिला चेम्बरको कामलाई नेपाल चेम्बर अफ कमर्शले सधैं सहयोग गर्ने धारणा उनको छ ।

