काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रका प्रमुख संस्थाहरूबीचको एकता र सहकार्यले मात्रै मुलुकमा आर्थिक उपलब्धि प्राप्त गर्न सकिने बताएका छन् ।
उद्योग वाणिज्य महासंघको उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले निजी क्षेत्र विभाजित हुँदा सरकार अलमलमा पर्ने र त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने बताएका हुन् ।
अग्रवालले आफ्नो दुई वर्षे कार्यकालमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग अत्यन्तै सौहार्दपूर्ण र प्रभावकारी सहकार्य भएको स्मरण गरे ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुझाएको सुझाव निजी क्षेत्रको साझा सहमतिको दस्तावेज भएको उनले बताए । उनले आगामी नेतृत्वबाट पनि यस्तै किसिमको सहकार्य र एकताको अपेक्षा गरे ।
उनले भने, ‘लगानी सम्मेलनदेखि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको कार्यसम्म हामीबीच निरन्तर सहकार्य भयो । निजी क्षेत्रको एउटा मात्र संस्थाले फरक मत राख्दा सरकारले त्यसलाई बहाना बनाएर निर्णय प्रक्रियामा ढिलाइ गर्ने गरेको छ ।’

अग्रवालले उम्मेदवारी घोषणा गर्ने सम्पूर्ण उद्यमी व्यवसायीहरूलाई शुभकामना दिँदै निर्वाचनमा एकमत भएर अगाडि बढ्न र निजी क्षेत्रको हकहितमा लाग्न आग्रह समेत गरे ।

FACEBOOK COMMENTS