काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले चेम्बरले देशको निर्यात प्रवरर्द्धन एवम् आयात प्रतिस्थापनका लागि निरन्तर पहल गरिरहेको बताएका छन् ।
आज बुधबार चेम्बरको ७४औँ वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो तथ्याङ्कले नेपालको निर्यात केही बेढेको देखाए पनि यो दीर्घकालीन नहुने भन्दै त्यसका लागि चेम्बरले प्रयास गरिरहेको बताएका हुन् ।
उनले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा ११ खर्ब ४५ अर्ब रुपैयाँको आयात हुँदा एक खर्ब ५८ अर्ब रुपैयाँको मात्र निर्यात भएको बताए । गत वर्षको आठ महिनाको तुलनामा यो वर्षको नौ महिनामा निर्यात ५८ प्रतिशले वृद्धि भएको देखिएको भन्दै उनले यसलाई निरन्तरता दिन सक्नुपर्नेमा जोड दिए ।
उनले यो अस्थायी प्रकृतिको रहेको भन्दै भने, ‘त्यो पनि नेपालबाट निर्यात हुने वस्तुमा भारतले अन्य देशबाट आयात गर्दा नेपालको तुलनमा अत्यधिक भन्सार महसुल लगाएको हुँदा नेपालको निर्यात बढ्न गएको हो । यसलाई दीर्घकालीन र स्थायी निर्यात वृद्धिका रूपमा हेर्न हुँदैन ।’
निर्यात प्रवद्र्धनका लागि उच्च भ्याल्यू–एडेड आइटमहरूको पहिचान र प्रवर्द्धन, उच्चस्तरीय क्वारेन्टिन ल्याबसहित भन्सारमा सहजीकरण, निर्यात अनुदान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनले बताए । त्यसो गरिए आगामी वर्ष निर्यातमा थप वृद्धि हुने निश्चित रहेको उनको भनाइ छ ।
हेर्नुहोस् भिडिओ–
उनले निर्यातमा सरकारले प्रदान गर्ने प्रोत्साहन रकम अविलम्ब निर्यातकर्ताहरूलाई उपलब्ध गराउन पनि अनुरोध गरे ।
यस्तै, उनले नेपाली उद्यमी व्यवासायीको मनोबल खस्किनुमा विश्वव्यापी कोभिड महामारी, रुस–युक्रेन युद्ध, तत्कालीन समयमा नेपाल राष्ट्र बैंकले लिएको अनुदार मौद्रिक नीतिको कारण रहेको बताए । साथै, वतर्मान सरकारले आर्थिक तथा व्यासायिक क्षेत्र सुधारका लागि ल्याएका अध्यादेशले समस्त उद्योगी व्यवसायीमा उत्साह जगाएको बताए ।
‘हाल उद्यमी व्यवसायीको उत्साहमा कमी आउनु तथा मनोबल खस्किुनको पछाडि विगतमा कोभिड महामारीको प्रभाव, रुस–युक्रेन हुँदै मध्यपूर्वमा भएका युद्धहरूको विश्वव्यापी प्रभाव र त्योभन्दा पनि बढी तत्कालीन समयमा केन्द्रीय बैंकले अङ्गीकार गरेको सङ्कुचित मौद्रिक नीति नै हो भन्ने नेपाल चेम्बर अफ कमर्सको निष्कर्ष रहेको छ,’ अध्यक्ष अग्रवालले भने, ‘वर्तमान सरकारको पहलमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्द्धन एवम् सुशासन प्रवर्द्धनका लागि जारी ५ अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट पारित हुनुले निजी क्षेत्रमा सकारात्मक सन्देश सम्प्रेषण हुनुका साथै उत्साह जागृत भएको छ । नेपालको अर्थतन्त्र उदार बजारमुखी र प्रतिस्पर्धी बनाउने दिशामा निर्देशित छ भनेर यसले समस्त लगानीकर्तामा उत्साह जगाएको छ । यसैअनुसारको नियमावली एवम् कार्यविधिको अपेक्षा हामीले गरेका छौँ । ’
FACEBOOK COMMENTS