हेटौंडा । मकवानपुर प्रशासनले हरिबोधनी एकादशीका अवसरमा हुने त्रिखण्डेश्वर महादेव मन्दिरको मेला लक्षित गर्दै काठमाडौं जाने यात्रुवाहक सवारीसाधनलाई कान्तिलोकपथ प्रयोग गर्न आग्रह गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१, त्रिखण्डीस्थित प्रसिद्ध त्रिखण्डेश्वर महादेव मन्दिर परिसरमा मंसिर ४ गते शुक्रबार हरिबोधनी एकादशीको मेला लाग्ने भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस्तो अनुरोध गरेको हो ।
मेलामा ठूलो संख्यामा श्रद्धालु भक्तजनको भीडभाड हुने र हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सडक खण्ड साँघुरो तथा भिरालो भएकाले सवारी आवागमनमा कठिनाइ हुन सक्ने प्रशासनले जनाएको छ ।
यात्रुवाहक सवारीसाधनको आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउन शुक्रबार उक्त सडक खण्ड हुँदै काठमाडौं जाने सवारीसाधनले कान्तिलोकपथ सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी सूचनामा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गरी आवागमन व्यवस्थापनमा सहयोग गर्न आग्रह गरिएको छ ।

