करण चौधरी
अध्यक्ष नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल
यो पटकको नाडा अटो शो विगतको भन्दा किन फरक छ ?
यो पटकको नाडा अटो शो फरक भन्दा पनि हाम्रा लागि जटिल अवस्थाबाट उकास्नका लागि मद्दत गर्ने फड्कोका रूपमा आयोजना गरेका हौँ । यो नाडा अटो शो मात्र होइन नाडाको रिलेभेन्ट र मेम्बर्सहरू कति छन्, कसरी छन् र उहाँहरूले नेपाली अर्थतन्त्र (रेभिन्यु र जीडीपी)मा कसरी योगदान गरिरहनुभएको छ भन्ने कुराको ‘छायाङ्कन’ गर्नका लागि यो शो आयोजना गरिएको हो ।
हाम्रा उपभोक्ताहरूलाई अवश्य पनि गाडी र बाइकहरूमा बढी उत्सुकता हुन्छ । त्यसलाई सम्बोधन गर्न यो पटकको अटो शोमा संसारमा विभिन्न कम्पनीका इलेक्ट्रिक भेहिकल (ईभी) जसलाई मानिसहरूले तीव्र प्रतिक्षा गरिरहेका छन् ती सबै देख्न र उपभोग गर्न पाउने छन् । नयाँ–नयाँ गाडीहरू पनि लञ्च हुँदैछन् । आईसीई, टू–ह्वीलर्सका ब्राण्डहरू र अरु कम्पोनेन्टहरूका विभिन्न ब्राण्डहरू लञ्च हुँदैछन् । यी सबै लञ्च भएपछि तपाइँहरूले देख्न पाउनुहुनेछ कि नेपालको अटो बजार नेपाली मात्र नभएर इन्टरनेशनल बजार भइसकेको छ भनेर ।
मुलुकको आर्थिक स्थिति सहज नभइरहेको अवस्थामा कत्तिको ‘कम्फर्टेबल मुड’मा व्यवसायीहरू सहभागी हुने अपेक्षा छ ?
अटोमोबाइल व्यवसायीहरू अहिले कम्फर्टेबल छैनन्, उनीहरू अहिले जटिल अवस्थामा छन् । आज हामीले जे गरिरहेका छौँ ‘कोभिडको बेलामा दसैँ मनायौँ’ भनेकोजस्तै भइरहेको छ । किनकी अहिलेको भन्दा त कोभिडको समयमा व्यवसायीहरूलाई धेरै राम्रो थियो । त्यो अवस्थाको तुलना गर्ने हो भने हामी अहिले निक्कै तल झरिसकेका छौँ ।
तपाइँहरूकै भाषा सापटी लिने हो भने अर्थतन्त्रमा आएको सुस्तता र अटोमोबाइल क्षेत्रमैत्री नीतिको अभावले गर्दा बजार ६८% प्रतिशतसम्मे गिरावट आएको छ । यस्तो बेलामा गरिएको यो शो कत्तिको फलदायी हुन्छ ?
अटोमोबाइल क्षेत्रको सम्पूर्ण बजारलाई हेर्ने हो भने करिब ७० प्रतिशत डाउनमा छ । त्यसमा पनि चारपांग्रे सवारी साधनको व्यवसाय ६२ प्रतिशत र हेभी इक्वेपमेन्टको बजार ९० प्रतिशत डाउन छ । कम्पोनेन्टहरू लगभग ३०–४० प्रतिशत छ । यी सबैमध्ये केही वृद्धि ईभीमा छ । ईभीको बजार विगतको तुलनामा दोब्बरले बढेको छ । यी सबै वस्तुस्थितिबारे सरकारलाई जानकारी दिन पनि यो शो गरिएको हो ।
यो पाली अटो शोमा नयाँ दिने भन्दा पनि हाम्रो ध्यान सरकारलाई यो क्षेत्रले कति योगदान दिँदै आएका थिए र दिइरहेका छन् भन्ने सन्देश दिने लक्ष्यमा हामी छौँ । यो क्षेत्रले राज्यलाई ठूलो योगदान दिएको छ । यो योगदान दिँदादिँदै पनि सरकारले प्राथमिकतामा राख्न सकेन । हामी फेरि पनि यहाँहरू (सरकार) लाई झक्झक्याउँदै छौँ । यो शोको म्याग्निच्युट अरु कुनै देशमा अरु कुनै शोहरू हुनेवाला छैन । त्यसकारण यो चिजलाई यहाँहरूले निरन्तरता दिन चाहानुहुन्छ भने, इकोनोमिक फोर्टोनटीमा निरन्तरता र उत्साह जगाउन चाहानुहुन्छ भने अटोमोबाइल क्षेत्रका लागि लचक नीति ल्याएर प्राथमिकतामा राख्नुपर्छ । त्यसो नगरे यति ठूलो फोर्टोनटी बिलाउनेवाला छ ।
मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका समस्या सम्बोधन नगरे त ‘बर्बादै हुन्छ’ भन्नुहुन्थ्यो, तर सम्बोधन भएन । तै पनि अटो शो आयोजना भइरहेको छ । कत्तिको सहज वा असहज महसुस भइरहेको छ ?
मौद्रिक नीतिले अटोमोबाइल व्यवसायलाई छोएन, तर बिगार्न पनि केही बिगारेको छैन । जे थियो त्यही अवस्थामा छ । तर, निर्माण व्यवसायीहरूको चेक अनादर (बाउन्स) को कुरालाई लिएर हामीमाचाहिँ अन्योल सृजना भएको छ । किनकी निर्माण व्यवसायीहरू अटो फोर्टोनटीसँग कहिँ न कहिँ जोडिएका हुन्छन् । त्यसकारण ‘सेक्युरिटी’लाई कसरी व्यवस्थापन गर्ने, उधारो दिँदा आजको दिनमा कसरी मान्ने, उधारो दिँदै नदिने वा कसरी दिने भन्ने विषय व्यापक अन्योलमा छ । यो खुलस्त हुनुपर्दछ ।
निर्माण व्यवसायलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मका लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने नीतिले व्यवसायीहरू अन्योलमा परेका हुन् । यसले हेभी इक्वेपमेन्ट, ट्रक, टिपर, पार्टस लुव्रिकेण्टस, टायर र ब्याट्रीहरू जुन उधारोमा दिइएको हुन्छ त्यसैले यसलाई कालोसूचीमा नै राख्ने व्यवस्था गरिनुपर्छ । यस्तो नगरिए यी सबै खराब कर्जामा परिणत हुनेछन् । यस्तो व्यवस्थाले व्यवसायीहरू ठूलो समस्यामा फस्ने निश्चित छ । यो विषयतर्फ नेपाल राष्ट्र बैंकले तत्कालै सुधार गर्नुपर्ने हाम्रो भनाइ छ ।
यस्ता विभिन्न समस्याकाबीच अटो शो गर्नुको मुख्य कारण हामीले अगाडि चर्चा गरेजस्तो सरकारलाई झकझक्याउन नै हो । विगतमा हामीले आन्दोलनहरू पनि ग¥यौँ, सडकमा पनि गइयो, टेबल पनि ठटाइयो अर्थात् सबै गरियो । अहिलेचाहिँ नयाँ ढङ्गबाट जानुपर्ने अवस्था देखेर यो पटक राम्रो काम गर्ने र यही कामले सरकारलाई झकझक्याउँदै जाने रूपमा यो शोलाई लिएका छौँ ।
मौद्रिक नीतिबाट पेट्रोल र डिजेलबाट चल्ने ‘आईसीई’ सवारी साधनहरूका लागि ‘लोन टू भ्यालु रेसियो’ ७५ प्रतिशत पु¥याउनुपर्ने तपाइँहरूको माग थियो । यदि त्यसो गरिएको भए यो शोमा के फरक देखिन्थ्यो ?
हाम्रो त्यो सुझाव मानिएको भए यो शो मा उपभोक्ताको ठूलो बाढी आउँथ्यो । त्यो बाढी थेग्न हामीले विभिन्न खाले बाँधहरू बनाउनपर्ने हुन्थ्यो । यो मेलालाई ६ दिनबाट १२ दिन बनाउनपर्ने पनि हुनसक्थ्यो वा केही न केही भिन्न रूपमा गर्न पर्ने हुन्थ्यो । मौद्रिक नीतिले विगत तीन वर्षदेखि इच्छुक ग्राहकहरूलाई खुम्च्याउँदै आइरहेको छ, जसका कारण ग्राहकले आफ्नो इच्छा पूरा गर्न पाएका छैनन् । त्यसकारण मौद्रिक नीति हामीले भनेजस्तो लचक हुनुपर्दथ्यो । अब हाम्रो नजिकै महान चाड दसैँ पनि आउँदैछ । त्यसको पूर्वसन्ध्याजस्तो समयमा भएको यो नाडा अटो शोबाट धेरैले गाडी तथा मोटरसाइकल खरिद गर्न चाहान्छन् । यदि, बजारमा आर्थिक मन्दी हुँदाहुँदै पनि राष्ट्र बैंकले आफ्नो नीतिमार्फत लचकता अपनाएको भए ग्राहकमा उत्साह जाग्ने थियो । जसका कारण गाडी हेर्ने, रोज्ने र किन्ने समेत वातावरण बन्नाका साथै या क्षेत्रमा बाढी आउँथ्यो भने मुलुकको अर्थतन्त्र पनि चलायमान बन्न सक्थ्यो ।
तपाइँहरूले अर्को पनि माग जोडतोडका साथ उठाउनुभएको थियो– ‘पेट्रोल, डिजेल र विद्युतीय शक्तिबाट चल्ने निजी प्रयोजन र व्यावसायिक महत्वका सवारी साधनहरूलाई स्पष्ट रूपमा छुट्याई सोहीअनुरूप बैंक लगानी गर्न सहजीकरण गरिदिनुपर्ने’ यसको अर्थ र उद्देश्य के हो ?
नेपालको बैंकिङ फोर्टोनटी र उहाँहरूको ऋण प्रवाह गर्ने जुन तरिका छ त्यसप्रति लक्षित कुरा हो यो । तपाइँहरूले अहिले पनि हेर्नुभयो भने कमर्सियल गाडीलाई दिइने ऋण बैंकले ‘जोखिमयुक्त’ भनिरहेको छ । निजी प्रयोजनका गाडीका लागि दिइने ऋण रिस्कमा हुँदैन, जति कमर्सियलको हुन्छ । किनकी निजी प्रयोजनका गाडी प्रयोग गर्ने तरिका र कन्डिसन सहजपूर्ण र जोखीजोखी प्रयोग गर्ने गरिएको हुन्छ भने सार्वजनिक प्रयोजनका गाडी प्रयोगको तरिका तपाइँहामी सबैले देखेकै छौँ, कसरी प्रयोग हुन्छ भनेर । त्यसै कारणले यसै पनि यी दुई प्रकृतिका गाडीबीच भिन्नता सृजना भइसकेको छ । त्यो भिन्नतालाई सच्याउनतिर लाग्नुपर्छ ।
हो, बैंकले आ–आफ्नो तरिकाले आफ्नो कर्जा सुरक्षित गर्न लाग्छ, तर, नाडाले यसरी गरौँ र उसरी गरौँ भनेको छैन । र, मौद्रिक नीतिले पनि कमर्सियल गाडी भनेर सेप्रेट गरेको छैन । हाम्रा लागि पनि चारपांग्रे भनेपछि चारपांग्रे नै हो, यसमा विद्युतीय, डिजेल–पेट्रोल वा अरु छुट्टै भन्ने नीति छैन ।
सबै समस्याका बाबजुद भइरहेको यो शोमा के–कस्ता ब्राण्ड/कम्पनीका कति स्टल छन् ?
यो पटक शोकेस गरिएको र गर्न बाँकी रहेका विभिन्न ब्राण्डहरू जो अन्तर्राष्ट्रिय बजारमा आइसकेका छन् । तर, कुनै यस्तो ब्राण्डहरू पनि यो अटो शोमा समावेश छन् जुन भारतमा आइसकेका छैनन् । यो भनेको नेपालको अटोमोबाइल व्यवसायले ठूलो फड्को मारेको अवस्था हो । यो पटक टू–ह्वीलरका १९ वटा, फोर ह्वीलरका २४ वटा र १२ वटा हल्का व्यावसायिक सवारी साधनहरूको स्टल रहेका छन् । यस्तै, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूका ३३ वटा स्टल यो शोमा रहेका छन् भने सातवटा बैंक तथा वित्तीय संस्थाको पनि स्टल छ । समग्रमा भन्दा यो पटकको टाटा.ईभी नाडा अटो शो, २०२४ मा कुल ९५ प्रदर्शकले १३० वटा स्टलमार्फत आफ्ना उत्पादन, वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्नेछन् ।
यो उत्साह ‘नेक्स्ट लेभल’को हो भन्ने मेरो बुझाइ छ । साथै, यसपटक हाम्रो शोमा ६० प्रतिशत भन्दा बढी ईभी गाडीहरू प्रदर्शित छन् । किनकी देशै ईभीमय भएर अघि बढिरहेको छ । यस्तो माहोलमा हामीले ईभीलाई अधिकतम प्राथमिकता दिन पाउनु ठूलो कुरा हो । आर्थिक चुनौतीहरूको बीचमा अटोमोबाइल क्षेत्रलाई पुनर्जीवित गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीको अवस्थामा नाडा अटो शो २०२४ ले उद्योगलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कति अवलोकनकर्ता र कारोबारको लक्ष्य राख्नुभएको छ ?
यो नाडा अटो शो विगतका भन्दा धेरै आकर्षक हुनेछ । त्यसकारण अवलोकनकर्ताको सङ्ख्या स्वाधाविक रूपमा बढ्ने नै छ । ‘टाटा.ईभी नाडा अटो शो २०२४’ले ६ दिनको अवधिमा करिब ७५ हजार अवलोकनकर्ता पाउने हाम्रो न्यूनतम अपेक्षा छ । जसले यसलाई नेपालको अटोमोबाइल क्यालेन्डरमा सबैभन्दा महत्वपूर्ण कार्यक्रमहरू मध्ये एक बनाउने विश्वास छ । अतिरिक्त आकर्षणको रूपमा, एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन्, जसलाई सीजी मोटर्स प्रालिले प्रायोजन गरेको छ ।
टिकट, पार्किङ र सहज भ्रमणका लागि के–कस्ता व्यवस्था गरिएको छ ?
नाडा अटो शोको सफलतामा यसको रणनीतिक साझेदारहरूको बहुमूल्य समर्थन महत्वपूर्ण छ । हिरो जुम स्कूटरले बहुप्रतिक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ती मोबाइल वालेट टिकटिङ पार्टनरको रूपमा रहेको छ जसले सहज टिकट खरिद अनुभव प्रदान गर्नेछ । डिजिटल टिकट खरिद नगर्नुहुनेहरूले फिजिकल्ली नै टिकट लिन सक्नुहुनेछ । हामीले साधारण टिकट रू. २०० र विद्यार्थीका लागि रू. १५० तोकेका छौँ । त्यस्तै वर्ल्डलिंक आधिकारिक इन्टरनेट पार्टनर रहेको छ, जसले सम्पूर्ण कार्यक्रमको दौरान कनेक्टिभिटीको का मगर्ने छ । यसैगरी ‘हिटको प्रालि’ले फायर सेफ्टी समर्थन प्रदान गर्नेछ भने सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुकहरूको सुरक्षा र सुरक्षाका लागि निगरानी गर्नेछ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेस प्रालि (जेम्स) ले गरेको छ । पार्किङका लागि पनि हामीले सहज व्यवस्था गरेका छौँ । थप पढ्न यहाँ क्लिक गर्नुहोस्–
भिडिओ हेर्नुहोस्–
FACEBOOK COMMENTS