काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनका क्रममा राजनीतिक दल, सङ्घसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ ।
आयोगले आज विज्ञप्ति जारी गर्दै प्रदर्शनमा काठमाडौँलगायत मुलुकका विभिन्न स्थानमा राजनीतिक दल, सङ्घसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई पुष्टि गर्ने श्रव्यदृश्य, फोटो र कागजातहरू जस्ता प्रमाण भए सो समेत उपलब्ध गराउन अनुरोध गरिएको छ । क्षतिको विवरण आयोगको इमेल र हुलाकमार्फत पनि पठाउन सकिने जनाइएको छ ।
‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आयोग गठन भई यही असोज ९ गतेदेखि कार्य प्रारम्भ भइसकेको छ ।
FACEBOOK COMMENTS