मकवानपुर । जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्न जोकोहीलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको अध्ययनका लागि मकवानपुर आइपुगेका अध्यक्ष कार्कीले प्रमाणका आधारमा प्रहरीले तुरुन्तै कानुनी कारबाही अघि बढाउन सक्ने स्पष्ट पारे ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित अन्तक्र्रियामा उनले फौजदारी अपराधका घटनामा प्रमाणका आधारमा अनुसन्धान र कारबाही गर्न पाउने अधिकार संविधान र कानुनले प्रहरीलाई दिएको बताए । सर्वोच्च अदालतका पूर्वन्यायाधीश कार्कीले २३ गतेको घटना जेनजी आन्दोलन भएको र २४ गतेको घटना पूर्ण रूपमा फौजदारी अपराधअन्तर्गत पर्ने उल्लेख गरे ।
आन्दोलनका क्रममा भएका घटनाको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न सरकारी कार्यालय, सर्वोच्च अदालत, संवैधानिक निकाय, उद्योगी–व्यवसायी र सर्वसाधारणबाट विवरण माग गरिएको बताउँदै अध्यक्ष कार्कीले क्षतिपूर्तिको दाबी प्राविधिक रूपमा प्रमाणित हुनुपर्ने स्पष्ट पारे ।
“हामीले सबै क्षेत्रबाट क्षतिको विवरण माग गरेका छौँ र व्यक्तिगत रूपमा पनि नोक्सानी बेहोरेकालाई फाराममार्फत आवेदन दिन भनेका छौँ । घर जल्यो भनेर एक करोडको क्षति भयो भन्दैमा हुँदैन । त्यसको आधिकारिक निकायबाट प्राविधिक मूल्याङ्कन हुनुपर्छ ताकी भोलि अदालतमा पनि प्रमाण लागोस्”, उनले भने ।

आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदीका सम्बन्धमा वर्तमान कानुन अपर्याप्त रहेको अध्यक्ष कार्कीको भनाइ छ । यो विषय समाधानका लागि विशेष अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएको उनले बताए । पूर्वप्रधानमन्त्री र गृहमन्त्री माथि आरोप सार्वजनिक भइरहेका सन्दर्भमा कार्कीले अनुसन्धानका क्रममा प्रमाण फेला परे मुद्दा दर्ता गर्न सकिने बताए । गत भदौ २३ गते गोली कसरी चल्यो भन्ने विषयमा आयोगले अध्ययन गरिरहेको पनि उनले जानकारी दिए ।

अध्यक्ष कार्कीका अनुसार उच्च सुरक्षा व्यवस्थाबीच सिंहदरबार, संसद् भवनलगायत संरचना जल्नुमा पनि अनुसन्धान भइरहेको छ । उनले कानुनी शासन बलियो बनाउन प्रहरीको मनोबल उच्च राख्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले जेनजी आन्दोलनपछि राज्यको अनुभूति नै नभएको बताए । उनले दुवै दिनका घटनालाई एउटै रूपमा हेर्न नमिल्ने भन्दै २४ गतेको आन्दोलन डकैती र घुसपैठमा परिणत भएको दाबी गरे ।

FACEBOOK COMMENTS