काठमाडौं । जेनजि २.० ले कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । संगठनले गृहमन्त्रीलाई पत्र लेख्दै उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नभएकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
पत्रमा देशमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन गठन गरिएको आयोगको प्रतिवेदन जनसरोकारसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरिएको छ । जेनजि २.० का अनुसार प्रतिवेदन सार्वजनिक नगर्दा जनतामा आशंका, अन्योल तथा अविश्वास बढ्ने खतरा रहेको छ ।
‘लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप यस्ता महत्वपूर्ण प्रतिवेदन समयमै सार्वजनिक गर्नु आवश्यक हुन्छ’ पत्रमा भनिएको ।जेनजि २.० ले पारदर्शिता र जनउत्तरदायित्व सुनिश्चित गर्न कार्की आयोगको प्रतिवेदन ढिलाइ नगरी सार्वजनिक गर्न आग्रह गरेको छ । संगठनका प्रवक्ता अविन लिम्बूले प्रतिवेदन सार्वजनिक नभएसम्म नागरिकस्तरबाट दबाब जारी रहने संकेत पनि दिएका छन् ।
FACEBOOK COMMENTS