कर्णाली। कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ ।
खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
हालसम्म प्रयोगशाला नहुँदा काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत जेठदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको हो । कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले कर्णालीमै पहिलोपटक ल्याब स्थापनापछि खाद्य गुणस्तर मापनमा सहज भएको र उपभोक्ताको विश्वस्नीयता पनि बढेको जानकारी दिए ।
“हामीले कर्णालीमै पहिलोपटक खाद्य वस्तुको गुणस्तर मापनका लागि ल्याब स्थापना गरेका छौँ”, उनले भने , “अहिलेसम्म हामीले दूध, तेल, सागपातलगायतका ९६ वटा नमूना परीक्षण गरिसकेका छौँ, यसले नागरिकको गुणस्तरीय खाद्यान्न प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ ।”
प्रयोगशाला स्थापनापछि खाद्यान्नप्रतिको नागरिकको गुनासो सम्बोधन हुँदै गएको उनले बताए । प्रयोगशालामा पर्याप्त जनशक्तिको अभाव देखिएको छ । ल्याब मात्र चलाउने नभई कार्यालयमा २१ जनाको दरबन्दी भएको उल्लेख गर्दै उहाँले अहिले आठ जनामात्रै कर्मचारी रहेको जानकारी दिए । “कर्मचारी अभावमा हामीलाई सेवा दिन असहज भइरहेको छ, यो समस्या चाँडै समस्या हुनुपर्छ ।”
कार्यालयले बजार अनुगमनलाई पनि तीव्रता दिएको छ । साउनदेखि असोजसम्म दुई सय ४८ पटक बजार अनुगमन गरिएको र मापदण्ड बाहिर रहेका तीनवटा दलहन उद्योग शिलबन्दी गरिएको छ । अहिले कार्यालयलाई प्रदेशभर हेर्ने जिम्मेवारी दिइएको भए पनि भौगलिक विकता, सीमित स्रोत, साधन र कर्मचारी अभावका कारण काम गर्न चुनौती रहेको थापाले बताए ।
करिब ४१ प्रतिशत त्रैमासिक प्रगति
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आफ्नो तीन महिनाको प्रगति सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा त्रैमासिक समीक्षा गर्दै आफ्नो तीन महिनाको प्रगति सार्वजनिक गरेको हो । जसअन्तर्गत कार्यालयले ४०।६७ प्रतिशत लक्ष्य पूरा गरेको जनाएको छ । कार्यालयका निमित्त प्रमुख थापाले कार्यालयले ४०।६७ प्रतिशत भौतिक प्रगति र ५६।६८ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिए ।
यता माथिल्लो कर्णालीका तीन जिल्ला हेरिरहेको जुम्ला कार्यालयका प्रमुख डा ईश्वर सुवेदीले तीन महिनामा जुम्ला कार्यालयले ७५ प्रतिशत लक्ष्य पूरा गरेको बताए। त्यसैगरी ५६।४८ प्रतिशत वित्तीय प्रगति भएको उनकाे भनाइ छ । कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पानी, दूध र तेलमा उपभोक्ता ठगी हुने गरेको भन्दै यसतर्फ अनुगमनलाई बढाउन सुझाव िदए।
उनले विशेषगरी आम उपभोक्तालाई आफूले खाने खाद्यवस्तुको गुणस्तरका बारेमा जानकारी गराउनुपर्नेमा जोड िदए । कार्यक्रममा नागरिक समाजका अगुवा पिताम्बर ढकालले उपभोक्ताको हितका लागि कार्यालयले राम्रो काम गरेको भन्दै आगामी दिनमा अझै अनुगमन तथा गुणस्तर मापनलाई जोड दिनुपर्ने बताए ।
FACEBOOK COMMENTS