काठमाडौं । कर्णाली विकास बैङ्कका संस्थापक अध्यक्ष र तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायलाई शनिबार रूपन्देहीबाट पक्राउ गरेको गरेको हो ।
सीआईबी प्रवक्ता युवराज खड्काका अनुसार रायलाई बैङ्कको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ गरिएको हो ।
सीआईबीले भनेको छ, ‘कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेडका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत एवम् पटक–पटक सञ्चालक समिति अध्यक्ष पदमा रही उक्त बैङ्कमा सङ्कलन भएको बचतकर्ताहरूको २५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्रवीर रायलाई यस ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैङ्कको समन्वयमा थप अनुसन्धान कार्य भइरहेको छ ।’
बैङ्कमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार थिए । २०६० मा स्थापना भएको कर्णाली विकास बैङ्कका संस्थापक अध्यक्ष राय २०७६ देखि २०७९ सम्म प्रमुख कार्यकारी अधिकृत थिए ।
FACEBOOK COMMENTS