कर्णालीका मुख्यमन्त्री कँडेललाई २३ जनाले दिए विश्वासको मत
कर्पोरट खबर
7:54 pm, सोमबार, साउन २१, २०८१
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाउँ भनेर प्रदेशसभासमक्ष प्रस्ताव पेस गरे । चालीस सदस्यीय प्रदेशसभामा ३८ जना प्रदेशसभा सदस्यहरू आजको प्रक्रियामा सहभागी थिए ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्वनमा भएका छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित भएनन् । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ मत पर्यो । एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका नौ, कांग्रेसका १४ जना सदस्यले मत दिए ।
मत नदिनेमा प्रतिपक्षी दल माओवादीका १३ र समाजवादीको एक जना प्रदेशसभा सदस्यहरू रहेका छन् । प्रदेश सरकार बनाउनका लागि कम्तीमा २१ मत आवश्यक पर्छ ।
मुख्यमन्त्री कँडेलले आफू कर्णालीको विकास र समृद्धिका लगातार अग्रसर भइरहने बताए । उनी चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले वैशाख १३ गते पहिलो पटक प्रदेशसभाबाट विश्वासको मत पाए ।
त्योबेला कँडेलले माओवादी र समाजवादीको समर्थन पाएका थिए । केन्द्रमा बदलिएको समीकरणसँगै कर्णालीमा पनि कांग्रेस–एमालेबीच सरकार गठन भएको छ । गत साउन ७ गते सत्तासाझेदार दल नेकपा ९माओवादी०ले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएको जानकारी दिए ।
सोहीअनुसार कँडेल नेतृत्वको मन्त्रिपरिषद्बाट माओवादी बाहिरिएको छ भने कांग्रेस सहभागी भएको छ । मुख्यमन्त्री कँडेलले आइतबार मात्रै कांग्रेसका चार जना मन्त्री नियुक्त गरे ।
FACEBOOK COMMENTS