काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/८९ सम्ममा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ५.४७ प्रतिशत रहने अनुमान गरेको छ ।
केन्द्रिय तथ्याङ्क विभागको पछिल्लो प्रकाशनअनुसार आर्थिक वर्ष २०७८/८९ मा नेपालको आर्थिक वृदिदर ५.८४ प्रतिशतले हुने अनुमान छ । यस्तो वृद्धिदर गत अवधिमा ४.२५ प्रतिशत रहेको थियो । बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा यस प्रदेशको कुल ग्राहस्थ उत्पादन ५.४७ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
गत आर्थिक वर्ष यस्तो वृद्धिदर ४.३४ प्रतिशत रहेको थियो । राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा यस प्रदेशको योगदान ४.१ प्रतिशत रहने अनुमान रहेको छ । पछिल्लो समय यस प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनमा सुधार आई सेवा क्षेत्रको विस्तार र कृषि तथा उद्योग क्षेत्रमासमेत सुधार आएकाले कर्णाली प्रदेशको समग्र आर्थिक स्थितिमा सुधार देखिएको हो ।
कृषि क्षेत्र
आर्थिक वर्ष २०७७/७८ का अनुसार मसान्तको तुलनामा आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा कर्णाली प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ३.७५ प्रतिशतले घटेको छ ।
प्रमुख बालीहरुमध्ये समीक्षा वर्षमा धान बालीले ढाकेको क्षेत्रफल ११.४८ प्रतिशतले घटेको छ । त्यस्तै, मकै, गहुँ र जौ बालीले ढाकेको क्षेत्रफल समीक्षा वर्षमा क्रमशः ८.६५ प्रतिशत, ५.७८ प्रतिशत र ०.३६ प्रतिशतले घटेको छ । कोदो बालीले ढाकेको क्षेत्रफल ५.८१ प्रतिशतले वृद्धि हुँदा फापर बालीले ढाकेको क्षेत्रफलमा ४९.५३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, भट्मास र दलहन बालीले ढाकेको क्षेत्रफल क्रमशः २.०८ प्रतिशत, र १२.७७ प्रतिशतले वृद्धि भएको छ भने तेलहन बालीले ढाकेको क्षेत्रफल २.६१ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०६९ देखि २०७९ सम्ममा कर्णाली प्रदेशमा तरकारी तथा बागवानी बालीले ढाकेको क्षेत्रफल क्रमशः ७ प्रतिशत र १९.०३ प्रतिशतल वृद्धि भएको छ । समीक्षा वर्षमा कर्णाली प्रदेशमा तरकारी तथा वागवानी बालीले ढाकेको क्षेत्रफल क्रमशः ७ प्रतिशत र १९.०३ प्रतिशतल वृद्धि भएको छ ।
आर्थिक वर्ष २०६९ देखि २०७९ सम्ममा मकै, जौ, बागवानी, आँप, मसला आदिको उत्पादनमा वृद्धि भएको कारण यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन २३.८० प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषि बालीमा धान बालीको उत्पादन २१.५० प्रतिशतले घटेको छ भने मकै उत्पादन २.०१ प्रतिशतले बढेको छ । कोदो र फापरको उत्पादन क्रमशः ४०.९० प्रतिशत र ९.४१ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा फापर बालीले ढाकेको क्षेत्रफलमा बढोत्तरी आएको भएपनि उत्पादकत्वमा गिरावट आएका कारण यस बालीको उत्पादन घटेको अनुमान गर्न सकिन्छ ।
यस प्रदेशमा समीक्षा वर्षमा दूध उत्पादन ७.३८ प्रतिशतले बढेको छ । त्यस्तै, माछा उत्पादन ५१.३६ प्रतिशतले बढेको छ भने मासु र अण्डा उत्पादन क्रमशः १६.८४ र ५.१२ प्रतिशतले घटेको छ ।
प्रदेशमा रहेको कुल खेतीयोग्य जमिन २ लाख २३ हजार ३ सय ९१ हेक्टरमध्ये १ लाख ३२ हजार ४ सय ४० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । जसमध्ये ५३ हजार ५ सय ४ हेक्टर क्षेत्रफलमा मात्र सिंचाई सुविधा पुगेको छ ।
२०७९ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्ष सोही वर्षको तुलनामा २६.१७ प्रतिशतले बढेर रु.४ अर्ब ९५ करोड ३९ लाख पुगेको छ ।
कृषिमा आधुनिकिकरण तथा व्यवसायीकरण, बजारको विस्तार, पुर्वाधारको पहुँच, सिँचित कृषि भुमीमा भएको विस्तार तथा वित्तिय पहुँच अभिवृद्धि जस्ता कारणहरुले गर्दा स्थानीयको कृषिमा संलग्नता बढेसँगै कृषि कर्जाको माग तथा सदुपयोगिता बढेको देखिन्छ ।
उद्योग क्षेत्र
आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार कर्णाली प्रदेशमा जम्मा ३ हजार ५ सय २६ वटा कम्पनी दर्ता भएका छन्। त्यस्तै, कर्णाली प्रदेशमा सञ्चालनमा आएका लघु, घरेलु तथा साना उद्योगहरुको संख्या २९ हजार २ सय ४८ पुगेको छ ।
समीक्षा वर्षमा यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ६.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ५२.२६ प्रतिशतले घटेको औद्योगिक कर्जा रु. ३ अर्ब ६७ करोड ४७ लाख ५० हजार रहेको छ । यस प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक न्यूनतम पूर्वाधार, आवश्यक दक्ष जनशक्तिको अभाव, उद्योगमैत्री पूर्वाधारको विकास तथा विपद व्यवस्थापनका चुनौतीहरु जस्ता प्रमुख अवरोधहरुले उल्लेखनीय रुपमा औद्योगिक क्षेत्रको विकास र विस्तार हुन सकेको छैन ।
समीक्षा वर्षमा सुर्खेत जिल्लाले सबैभन्दा धेरै (रु. २ अर्ब २९ करोड ७९ लाख ६० हजार) औद्योगिक कर्जा उपभोग गरेको छ भने सबैभन्दा कम (रु. १ करोड ६० लाख ३० हजार) डोल्पा जिल्लाले उपभोग गरेको छ ।
सेवा क्षेत्र
समीक्षा वर्षमा भारत, चीन लगायत तेस्रो मुलुकबाट यस प्रदेशमा भित्रिने पर्यटकको संख्या क्रमशः ५६.७७ प्रतिशत, ५५.३५ प्रतिशत र १४१.७२ प्रतिशतले वृद्धि भएको छ । विगत केही वर्ष यता कोभिड–१९ लगायत अन्य कारणले कर्णाली प्रदेशमा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या शून्यप्राय रहेकोमा हालको वर्षमा तेस्रो देशबाट पनि पर्यटक आउन थालेको कारण सो संख्याको वृद्धि प्रतिशत अधिक भएको अनुमान गरिएको छ ।
समीक्षा वर्षमा घरजग्गा रजिष्ट्रेशन संख्या १८ हजार ५ सय ५५ पुगेको छ, जुन गत वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । त्यसैगरी, घरजग्गा रजिष्ट्रेशन बापतको राजश्व ३४.५२ प्रतिशतले घटेर रु. ३० करोड ६ लाख ७८ हजार पुगेको छ ।
समीक्षा वर्षमा यस प्रदेशमा दर्ता भएका कुल सवारी साधनको संख्या ८.०३ प्रतिशतले वृद्धि भई २० हजार ९ सय १५ पुगेको छ । समीक्षा वर्षमा यस प्रदेशमा नेपाल टेलिकमबाट वितरित टेलिफोनको संख्या ४.६२ प्रतिशतले बढेर ७ लाख १२ हजार २ सय ८ कायम भएको छ ।
समीक्षा वर्षमा यस प्रदेशमा रहेका सरकारी/सामुदायिक अस्पतालको संख्या र ती अस्पतालहरुमा रहेका शैयाहरुको संख्या क्रमशः ८.७० प्रतिशत र ११.०८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, समीक्षा वर्षसम्ममा यस प्रदेशमा जम्मा २५ वटा सरकारी/सामुदायिक अस्पताल र १ हजार २ सय ४३ वटा शैयाहरु रहेका छन्।
समीक्षा वर्षमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८४.२९ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तसम्ममा थप ४९ वटा शाखा विस्तार भई कर्णाली प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ४५५ पुगेको छ ।
समीक्षा वर्षमा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा ७.२४ प्रतिशतले बढेर रु. ५४ अर्ब ९२ करोड ९४ लाख पुगेको छ भने निक्षेप ५.८७ प्रतिशतले वृद्धि भई रु. ६० अर्ब ३२ करोड ७८ लाख ६० हजार पुगेको छ ।
पूर्वाधार क्षेत्र
कर्णाली प्रदेशमा कच्ची तथा पक्की सडक गरी करीब १,४४१.१९ कि.मि. सडक सञ्जाल रहेको छ । यस प्रदेशका १० जिल्लाहरुमध्ये डोल्पा, हुम्ला र मुगु जिल्लामा हालसम्म कुनै पनि सडकहरु कालोपत्रे भएका छैनन्।
नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनअनुसार यस प्रदेशमा विद्युत प्रसारण लाईन ७,९१३ कि.मि. पुगेको छ । साथै, यस प्रदेशमा ११ मेगावाट विद्युत उत्पादन भएको छ । जसमध्ये सबैभन्दा बढी दैलेख जिल्लाबाट ८.५५ मेगावाट र सबैभन्दा कम जुम्ला र डोल्पा जिल्लाबाट समान ०.२० मेगावाट विद्युत उत्पादन भएको छ ।
FACEBOOK COMMENTS