काठमाडौं । भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ । प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको हो ।
भारतको वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्याजको निर्यातमा कर लगाइएको उल्लेख गरिएको छ । तत्कालै कार्यान्वयनमा आएको यो व्यवस्था ३१ डिसेम्बरसम्म रहने जनाइएको छ । जनवरीदेखि बजारमा नयाँ प्याज आउने गर्छ ।
भारत सरकारकाअनुसार प्याजको मूल्य बढ्न थालेको छ । अल इण्डिया रिटेल प्राइसकाअनुसार प्याजको मूल्य १० अगस्टमा २७ दशमलव ९० रुपैयाँ प्रतिकेजी थियो ।
गत वर्ष यही समयमा भारतमा २ रुपैयाँ प्रतिकेजीमा प्याज पाइन्थ्यो ।
नेपालले भारतबाट प्याज आयात गर्ने गरेका कारण यसको प्रभाव नेपाली बजारमा पनि पर्नेछ । गत आर्थिक वर्षमा नेपालले ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार मेट्रिक टन प्याज भारतबाट आयात गरेको थियो ।
भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो । भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो ।
FACEBOOK COMMENTS