काठमाडौँ । काठमाडौँ महानगरपालिकाका १८ वटा वडाभित्र २१६ वटा सडकको नयाँ नाम (पुराना नामलाई संशोधन र नयाँ नामाकरण) वडाबाट अनुमोदन भएको छ ।
१ हजार ३७ वटा पुराना नामलाई प्रमाणित गर्दै नाम नभएका सडकको नयाँ नाम अनुमोदन भएको हो । यसरी नयाँ नाम राखिएका वडाहरु वडा नम्बर १, २, ८, ९, ११, १२, १४, १६, १८, १९, २०, २१, २४, २५, २७, २८, २९, ३० हुन् । वडा नम्बर ६, २२, २३, २६ र ३२ मा छलफल हुन बाँकी छ । अन्य वडाहरुमा नक्सामाथि छलफल चलिरहेको छ ।
वडाले सडकका नयाँ र संशोधित नाम स्वीकृत गरेपछि यसलाई भवन व्यवस्था समितिको वैठकमा पेश गरिन्छ । समितिबाट पारित भएपछि यसलाई स्वीकृत गराउन कार्यपालिका बैठकमा पेश गरिनेछ ।
काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमबाट नामाकरण भइसकेका सडकहरुलाई एकीकृत गर्ने, सडकहरुको मौलिक र बैज्ञानिक नामाकरण गर्ने, सडकसँग जोडिएका संरचना र पूर्वाधारको विवरण संकलन तथा नक्साङ्कन कार्यक्रमको लक्ष्य हो । यसरी पथ, सडक, मार्ग र गल्लीको नक्साङ्कन तथा नामाकरणबाट इन्भेन्ट्री (सूची) तयार गर्ने, सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन द्रुत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङ्क प्राप्त हुनेछ ।
नक्सामा महानगरपालिकाभित्र १ हजार ४९ किलोमिटर सडक देखिएको महानगरपालिकाका सूचना प्रविधि महाशाखा प्रमुख नापी अधिकृत अशोक श्रेष्ठले जानकारी दिए। यसभित्र पथ, सडक, मार्ग र गल्ली ४ हजार ९७७ वटा छन् । यीमध्ये २ हजार ४१६ वटाको नाम दिइएको छ । २ हजार ५६१ वटाको नाम दिइएको छैन ।
वि. सं. २०५८ सालमा सञ्चालन भएको काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमबाट पथ, सडक, मार्ग र गल्ली गरी २ हजार ५७८ वटा नामाङ्कन र नक्साङ्न गरिएको थियो । ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थियो ।
सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङ्कनपछि नयाँ नाम राख्ने काम भइरहेको हो । गएको पुस ९ गतेदेखि ५ जना भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ जना सिनियर सर्भेयरबाट नक्साङ्कनको काम थालिएको हो ।
महाशाखा प्रमुख श्रेष्ठका अनुसार महानगरपालिकाले २०५८ सालमा काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमबाट संकलन गरिएको तथ्याङ्क, अहिले गरिएको ड्रोन म्यापिङ् (अर्थोफोटो) का आधारमा सबै वडाको वडागत नक्सा प्रिन्ट भएको छ । नक्सामा नाम भएका र नाम नभएका सडकलाई संकेत गरिएको छ । यो संकेतका आधारमा वडास्तरीय छलफलबाट पुरानालाई अनुमोदन गर्ने र नयाँ नामलाई वडाबाट अनुमोदन गराउने काम भइरहेको हो ।
वडा नम्बर ७ मा २३९ वटा सडक
१.७४८ वर्ग किलोमिटर क्षेत्रफल भएको महानगरपालिकाकाको वडा नम्बर ७ मा भएका सडकको लम्बाइ ४३.५ किलोमिटर छ । यसमा २३९ वटा सडक छन् । यसमध्ये १३८ वटा सडकको नाम छ । १०१ वटाको नामाकरण भएको छैन । नामाकरण नभएका सडकको लम्बाइ ८.९ किलोमिटर छ । यी सडकको नामाकरणका लागि १५ वटा ग्रीड बनाएर आजदेखि छलफल सुरु गरिएको छ ।
आज गरिएको छलफलमा वडाध्यक्ष विमलकुमार होडाले, प्राचीनता, मौलिकता, सामाजिक तथा सांस्कृतिक क्षेत्रसँग जोडिएका नामलाई रुपान्तरण नगर्न आग्रह गर्नुभयो । नयाँ नामले पनि सांस्कृतिक, सामाजिक, उल्लेखनीय योगदान गरेका व्यक्तित्वको पहिचान जोगाउने तर्फ ध्यान दिनुपर्छ । होडाको भनाइ छ ।
टोल टोलमा, समुदाय समुदायमा छलफल गरेर आफू सम्बन्धित पथ, सडक, मार्ग र गल्लीको नाम शिफारिस गर्न जेठ १७ गतेसम्मको समय दिइएको छ । वडा सदस्य रुपा थापा क्षेत्रीले जानकारी दिनुभयो ।
पूर्वमा वडा नम्बर ६ र ८, पश्चिममा वडा नम्बर ४, उत्तरमा बुढानीलकण्ठ नगरपालिका र दक्षिणमा वडा नम्बर ९ को सिमानाभित्र वडा नम्बर ७ रहेको छ ।
बाटोको वर्गीकरण
काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमले जारी गरेको ठेगाना प्रणाली निर्देशिका २०५७ ले १४ मिटर, ४ लेन वा त्योभन्दा धेरै चौडाइ भएको सडकलाई पथ भनेको छ । १० मिटरदेखि १४ मिटरसम्मको चौडाइ भएकालाई सडक भनेको छ । ३ मिटरदेखि १० मिटर चौडाइ भएकालाई मार्ग र ३ मिटरभन्दा कम चौडाइ भएकालाई गल्ली भनेर वर्गीकरण गरेको छ ।
FACEBOOK COMMENTS