काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट नगरसभाबाट पारित भएको छ ।
बुधबार बसेको नगरसभाको बैठकले प्रमुख बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपमेयर सुनिता डंगोलले पेस गरेको बजेटलाई सर्वसम्मतिले पारित गरेको हो।
असार २९ गते आइतबार उपमेयर डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन्। प्रस्तुत बजेटअनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषबाट व्ययभार हुने र ६५ करोड रुपैयाँ अन्य बाह्य स्रोतबाट व्ययभार हुने अनुमान गरिएको छ।
स्वीकृत बजेटमा पूर्वाधार विकासका लागि सबैभन्दा बढी ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै सामाजिक विकासतर्फ २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड २८ लाख ६८ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार, कार्यालय सञ्चालन तथा प्रशासनतर्फ १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार र आर्थिक विकासका क्षेत्रमा ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ।
महानगरपालिकाले आगामी वर्षका लागि पारित बजेटमार्फत विकास निर्माण, सामाजिक विकास, सुशासन र प्रशासनिक सुदृढीकरणमा ध्यान दिने जनाएको छ।
FACEBOOK COMMENTS