काठमाडौं । राजधानी काठमाडौँमा आयोजित ‘प्रथम काठमाडौैं महोत्सव २०८२’ अन्तर्गत आज बिहीबार दोस्रो दिनका कार्यक्रम सुरु भएको छ । बुधबार सुरु भएको महोत्सव शनिबारसम्म चल्नेछ ।

बिहीबार राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसहित अन्य कार्यक्रमहरु सुरु भइसकेको आयोजक संस्था नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए । ‘प्रथम पटक आयोजना गरिएको महोत्सवमा दर्शकको आकर्षण देखिएको छ,’ उनले भने, ‘आज दोस्रो दिन बिहानैबाट दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ ।’

काठमाडौंमा आयोजना भएका मेला महोत्सव मध्ये काठमाडौं महोत्सव पृथक खालको भएकाले पनि धेरैको रोजाईमा पर्न सफल भएको महोत्सव संयोजक उज्ज्वल जंग शाहले बताए । ‘हामीले महोत्सवमा विविधता प्रस्तुत गरेका छौं,’ उनले भने, ‘स्थानीय तहका उत्पादनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बस्तु तथा उत्पादनहरु दर्शकको रोजाईमा परिरहेको छ ।’



सुस्ताएको अर्थतन्त्रमा नयाँ ऊर्जा भर्न महोत्सव सहयोगी हुने आयोजकको विश्वास छ । बुधबार काठमाडौं महानगरपालिकाका कार्यबहाक मेयर सुनिता डँगोलले महोत्सवको उद्घाटन गरेकी हुन् ।



महोत्सवले स्थानीय उत्पादन, साना तथा घरेलु उद्योग, स्टार्टअप, हस्तकला, पर्यटन, कला–संस्कृति र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्य राखेको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए । महोत्सवमा २०० भन्दा बढी व्यावसायिक स्टल राखिएका छन् । महोत्सवमा करिब १ लाखभन्दा बढी दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ ।



FACEBOOK COMMENTS