काठमाडौं । चालु आर्थिक बर्षका लागि काठमाडौं महानगरपालिकाको २ अर्ब ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँको संशोधित बजेट नगर सभामा पेश भएको छ ।
नगर सभाको १२ अधिवेशनमा उपप्रमुख एवं सभाका उपाध्यक्ष सुनिता डंगोलले संशोधन प्रस्ताव पेश गरिन् । बजेट ११ औँ नगर सभाबाट चालु आर्थिक बर्षका लागि स्वीकृत ४ अर्ब ३६ करोड ७१ लाख ७ हजार बजेटका कार्यक्रमलाई संशोधनमा लगिएको हो ।
संशोधन प्रस्ताव पेश गर्दै उपप्रमुख डंगोलले, ६ महिनामा बजेट कार्यान्वयनको प्रगति हेरेर संशोधन प्रस्ताव पेश गरिएको बताए । यसबाट बजेट कार्यान्वयनमा सुधार हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
चालु आर्थिक बर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम स्वीकृत गरेर कार्यान्वयनमा ल्याइएको थियो । यसमा सञ्चित कोषबाट २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो ।
सभामा लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिकी संयोजक गायत्री पुडासैनीले आर्थिक बर्ष २०७७/०७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदन प्राप्त भएको जानकारी दिइन् । उक्त आवमा बेरुजु देखिएको १ अर्ब ७ करोड १२ लाख २५ हजार रुपैयाँमध्ये प्रारम्भिक प्रतिवेदनको माध्यमबाट ३७ लाख ८१ हजार रुपैयाँ फस्र्यौट भएको छ ।
फस्र्यौट हुन बाँकी रहेको १ अर्ब ६ करोड ७४ लाख ४४ हजार रुपैयाँमध्ये २५ करोड ७५ लाख रुपैयाँ असुल गर्नुपर्ने, ६१ करोड ४६ लाख ८४ हजार रुपैयाँ प्रमाण तथा कागजपत्र पेश गर्नुपर्ने, ४ करोड ४५ लाख ८८ हजार रुपैयाँ नियमित गर्नुपर्ने र पेश्की १५ करोड ६ लाख ६ हजार रुपैयाँ रहेको छ । समितिको यो प्रतिवेदन सभाबाट पारित भएको छ ।
FACEBOOK COMMENTS