काठमाडौं । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।
राष्ट्रियसभा गृहमा बुधबार बसेको १५औँ नगरसभाको पाँचौँ बैठकबाट महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको हो ।
बैठकमा नगरप्रमुख बालेन्द्र साहले पेस गरेको संशोधित नीति तथा कार्यक्रम र बजेटलाई नगरसभा सदस्यले सर्वसम्मत पारित गरेका हुन् ।
नगरप्रमुख साहले नगरसदस्यको उठाएको विषय र सुझावलाई यथासम्भव समावेश हुने गरी बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन गरिने विश्वास व्यक्त गरे ।
काठमाडौँ महानगरपालिकाले यही असार १० गते आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरेको छ । जुन कूल बजेटको ६१ दशमलव २० प्रतिशत हो ।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार र सामाजिक विकास क्षेत्रका लागि तीन अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट प्रस्ताव गरिएको छ ।
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि एक अर्ब ८९ करोड २१ लाख र स्थानीय सञ्चित कोषबाट खर्च हुने गरी रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि १९ करोड नौ लाख प्रस्ताव गरिएको छ ।
FACEBOOK COMMENTS