काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार कार्यक्रममा काठमाडौँ महानगरपालिकाभित्र भएका अस्पतालले एक वर्षमा २६ जनाको शल्यक्रियासहित एक सय ५५ जनालाई निःशुल्क उपचार गरेका छन् ।
कामपा स्वास्थ्य विभागका अनुसार लक्षित वर्ग निःशुल्क उपचार गराउनुपर्ने कानुनी व्यवस्थाअनुरूप उक्त सङ्ख्यामा बिरामीको उपचार गराइएको कामपा शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन जानकारी दिनुभयो ।
कामपाले ‘अस्पतालमा निःशुल्क उपचार गराउनेसम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । यसमा भएको व्यवस्था कार्यान्वयन गराउन सबै निजी अस्पताललाई पत्राचार गरेर अनलाइन प्रणालीमार्फत २०८० फागुन १ गतेदेखि सेवा सुरू गराइएको थियो । यस प्रणालीमा महानगरपालिकाभित्रका ५२ वटा अस्पताल आबद्ध छन् । यसमा तीन सय ७४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् ।
आकस्मिक सेवा, फेमिली मेडिसिन, आँखा, नाक, कान, नसाको रोग, क्यान्सर, दम, क्षयरोगजस्ता छातीसम्बन्धी (पल्मोलोजी), सर्जरी (शल्यक्रिया), स्त्री तथा प्रसूति रोग सेवा, पेटसम्बन्धी सेवा, आँखाको उपचार सेवा लिनुभएको हो । यसरी सेवा लिनेमध्ये सबैभन्दा धेरै ३५ जनाले फेमिली मेडिसिन र २६ जनाले शल्यक्रिया सेवा प्राप्त गर्नुभएको छ । यो सेवा ३२ वटा अस्पतालबाट प्रदान गरिएको हो ।
यसमा सबैभन्दा धेरै अन्नपूर्ण न्यूरोलोजिकल अस्पतालले २९ जनालाई, काठमाडौँ मेडिकल कलेजले १७ जनालाई, काठमाडौँ मोडेल अस्पतालले १४ जनालाई, नेपाल आँखा अस्पतालले १२ जनालाई सेवा दिएका छन् । अन्य अस्पतालहरूले बढीमा सात जनालाई र कम्तीमा एक जनालाई सेवा दिएका छन् । निःशुल्क उपचार सेवा लक्षित वर्ग (विपन्न, असहाय र बेवारिसे) का लागि हो ।
जनस्वास्थ्य निरीक्षक एवं कार्यक्रमका स्थानीय स्रोत व्यक्ति धनेन्द्र श्रेष्ठका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि सम्मिलित एकीकृत अनुगमन प्रणालीबाट उपचार सेवालाई प्रभावकारी बनाउन सम्भव छ ।
उपचार सेवा पाउने विधि
लक्षित वर्गले तीन वटा विधिमध्ये कुनै एकबाट सेवा लिन सक्नुहुन्छ । एक विपन्न परिचयपत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ । दुई, विपन्न परिचयपत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन सकिन्छ । तीन, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सकिनेछ । प्रमाण प्रमाणित हुनसकेमा एकाइले सिफारिस गर्नेछ ।
FACEBOOK COMMENTS