काठमाडौं । जेनजी आन्दोलनमा भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा काठमाडौं महानगरपालिका भित्रका केही वडामा तोडफोड हुँदा ६३ लाखको क्षति भएको छ ।
कामपाका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार कामपा–३२ को वडा कार्यालय भवन अधिक क्षति भएको छभने वडा १३ मा आंशिक क्षति भएको छ ।
कामपा–३२ मा सबैभन्दा बढी क्षति पुगेकाले हालसम्म पनि कार्यालयबाट नागरिकलाई सेवा प्रदान गर्न नसकिएको उनले बताए । सहायक प्रवक्ता काफ्लेका अनुसार कामपा–६ को वडा कार्यालय–७ मा आंशिक रूपमा क्षति भएको छ ।
बग्गी खानामा रहेको नगरप्रहरी बिट पूर्ण रूपमा क्षति भएको बताउँदै उनले मीनभवनस्थित नगरप्रहरीको पूर्व क्षेत्रमा रहेको कार्यालय पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिए ।
कामपाले प्रदर्शनका क्रममा क्षति भएका र मर्मत गरेर सञ्चालन गर्न सकिने कार्यालयहरूको सरसफाइ, मर्मत र रङरोगनको काम गरिरहेको प्रवक्ता काफ्लेले बताए । उनका अनुसार प्रदर्शनका क्रममा टुटफुट भएका विद्युतीय सामग्रीहरू खरिद गर्ने काम पनि आवश्यकताअनुसार भइरहेको छ । कामपा–३२ वडा कार्यालयबाट कहिले नागरिकलाई सेवा प्रदान गर्न सकिन्छ भन्ने विषय अझै अन्यौल रहेको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS