महानगरका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक हिंसामा परेकाको निःशुल्क स्वास्थ्योपचार
कर्पोरट खबर
7:56 pm, बिहीबार, मंसिर ११, २०८२
काठमाडौँ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसामा परेका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्न काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग सम्झौता गरेको छ ।
विहिबार उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहबरमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र अस्पतालका अध्यक्ष डा। मनोजमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताबमोजिम काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुलाई पनि उपचार सेवा उपलब्ध हुनेछ । महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा उपलब्ध गराइनेछ ।
लैङ्गिक हिंसामा परेका व्यक्ति, वेवारिसे व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति र सिटी स्क्यान गर्नु पर्ने कर्मचारीहरुका लागि सामाजिक विकास विभागको शिफारिस आवश्यक हुनेछ । यसरी गरिएको उपचार खर्च महानगरपालिकाले व्यहार्नेछ । उपचार सहकार्यका लागि महानगरपालिकाले १ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ । यसमा अस्पतालले ३० प्रतिशत थप गरेर १ करोड ८० लाख रुपियाँ बराबरको उपचार सेवा उपलब्ध हुनेछ ।
चालु आर्थिक वर्षका लागि सम्झौता भएको हो । सेवा लिन कर्मचारी र जनप्रतिनिधिहरुलाई परिचय पत्र, ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचय पत्र, नागरिकता चाहिन्छ ।
FACEBOOK COMMENTS