काठमाडौं । काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ ।
जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोप्ने भएको छ । जेठ ६ गते करिब ५ सय बिरुवा रोपेर हरियाली अभियान शुरू गरेको महानगरले हालसम्म १० हजार वृक्षरोपण गरिसकेको छ । कामपाले पहिलो चरणमा सधैं हरियो भइरहने धुपी, समी र कपुरको बिरुवा रोपेको छ ।
कामपा उद्यान तथा हरियाली आयोजना प्रमुख नवराज थापाले नेपाल समाचारपत्रसँग कुरा गर्दै हालसम्म १० हजार वृक्षरोपण गरिसकेको र असारभित्र ९० हजार बिरुवा रोपिसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘राम्रोभन्दा पनि सधैं हरियो भइराख्ने भएकोले तीन प्रकारका बिरुवा रोप्न शुरू गरेका हौं ।’ उहाँका अनुसार साउन लागेपछि विभिन्न प्रकारका मौसमी फूलका विरुवा रोप्ने कार्यक्रम छ ।
कामापाले हालसम्म सडक किनार, खाली क्षेत्र र पार्कमा वृक्षरोपण गरेको छ । कोटेश्वरदेखि तीनकुने पेट्रोलपम्प, त्रिपुरेश्वरदेखि कालीमाटी, शंखधर पार्क र रत्नपार्क, खुलामञ्चलगायतका क्षेत्रका सडक किनार र खाली क्षेत्रमा वृक्षरोपण गरेको हो । कामपाले ३५ वटै वडालाई वृक्षरोपण गर्नका लागि खुलाक्षेत्र, पार्क र बगैंचा पहिचान गर्न पत्राचार गरेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS