काठमाडौं । आगामी आर्थिक बर्षको कार्यक्रम तर्जुमा गरेर जेठ १० गतेभित्र पेश गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
काठमाडौँ प्लाजामा बसेको सिनियर म्यानेजमेन्ट टीम (एसएमटी) बैठकमा उनले चालु आर्थिक बर्षको सिलिङ् नबढ्ने गरी, कार्यान्वयन योग्य कार्यक्रम तर्जुमा गर्न निर्देशन दिए । काठमाडौँ प्लाजामा बसेको यो पहिलो बैठक हो ।
‘महानगर गौरवका योजना के हुन सक्छन् ? सोच र परिकल्पना पत्र निर्माण गर्नोस्’ अधिकारीले भने, ‘हामीले महानगर कस्तो बनाउन चाहेका छौँ । कार्यक्रमबाट देखिनु पर्छ । यी कार्यक्रम नागरिकसँग जोडिने खालका हुनुपर्छ । कार्यान्वयन योग्य हुनुपर्छ ।’
आर्थिक बर्ष २०८०/०८१ अधुरा योजना पूरा गर्ने बर्ष हुने र त्यसपछि कुनै पनि अधुरा योजना बाँकी नरहने गरी कार्यक्रम तर्जुमा गर्न उनले जोड दिए ।
महानगरका विभागहरु काठमाडौँ प्लाजामा सार्ने विषयले बैठकमा लामो समय लिएको थियो । अहिलेसम्ममा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव अधिकार विभाग, विपद व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ प्लाजामा सरि सकेका छन् ।
अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय जेठ ३ गतेभित्र, सहकारी विभाग जेठ ६ गतेभित्र, सहरी व्यवस्थापन विभाग जेठ ८ गतेभित्र प्लाजामा सरि सक्ने योजनामा छन् ।
कार्यालय सार्ने निहुँमा कुनै पनि सेवा रोकिनुहुन्न । सेवामा कोही पनि सेवाग्राहीले दुःख पाउनु हुँदैन । बैठकमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, प्लाजामा सहयोग कक्ष स्थापना गरेर सेवाग्राहीले सूचना दिने र सहयोग उपलब्ध गराउने बताए । कार्यालय कता छ ? अधिकारी कता छन् ? सेवाग्राहीलाई थाहा नहुन सक्छ । सहायता कक्षबाट यस सम्बन्धी जानकारी र सहयोग प्राप्त हुनेछ ।
FACEBOOK COMMENTS