काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा सरस्वती पूजाको अवसर पारेर यस वर्ष १ हजार ११५ जना बालबालिकाले अक्षरारम्भ गरेका छन् ।
यसरी अक्षरारम्भ गर्नेहरुमा ५२५ जना छात्रा र ५९० जना छात्र छन् । यो संख्या गएको वर्षभन्दा १४४ जनाले बढी हो । गएको वर्ष यस दिन ९७१ जना बालबालिकाले अक्षरारम्भ गरेका थिए । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये कारागारभित्रका विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छैनन् । बाँकी विद्यालयहरुमा छन् ।
बालबालिकाहरुको अक्षरारम्भ कार्यक्रम अन्तर्गत ज्ञानोदय माध्यमिक विद्यालयमा सहभागी हुँदै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगालले, बालमैत्री वातावरणमा उनीहरुको सर्वाङ्गीण विकासको जग बलियो बनाउने कामलाई महानगरपालिकाले प्राथमिकता राखेको उल्लेख गरेकी छन् ।
धेरै बालबालिकाले अक्षरारम्भ गरेका विद्यालयमध्ये ज्ञानोदय माध्यमिक विद्यालय वाफलमा ८७ जना, नीलबाराही माध्यमिक विद्यालय, टंकेश्वरमा ५० जना र भानु माध्यमिक विद्यालय, रानीपोखरीमा ४२ जना छन् ।
प्रारम्भिक बाल विकास कक्षाहरुमा बाल केन्द्रीत सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले विद्यार्थी संख्याका आधारमा प्रारम्भिक बाल विकास सहजकर्ता व्यवस्थापन गरेका कारण प्रारम्भिक बाल विकास कक्षामा बालबालिकाको आकर्षण बढेको हो ।
शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार अक्षरारम्भ गरेका बालबालिका नियमित विद्यालय आउन चाहेमा कक्षा कोठाको प्रबन्ध गरिएको छ । नियमित कक्षाका लागि भर्ना चाहिँ बैशाख महिनामा हुनेछ ।

FACEBOOK COMMENTS