काठमाडौं । काठमाडौं महानगरले वीर अस्पतालसँगको सहकार्यमा महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण थालेको छ ।
पहिलो दिन जाँचका लागि स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ जनाले रिफरल स्लिप लिएर वीर अस्पताल गएको महानगरले जनाएको छ । उनीहरुमध्ये ५ जनाको परिवारमा स्तन क्यान्सर र ३ जनाको परिवारमा सर्भाइकल क्यान्सरको इतिहास रहेको छ ।
पाठेघरको मुखको क्यान्सर परीक्षण गराउँदा एचपीभी पोजेटिभ देखिए धेरै महिला र परिवारका सदस्य क्यान्सर भयो भनेर डराउने गरेको तर, एचपीभी पोजेटिभ हुनु क्यान्सर हुनु नभएको चिकित्सकहरु बताउछन् । यसबाट संक्रमण भएर क्यान्सरको जोखिम हुन सक्ने जोखिम हो । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. सन्ध्या चापागाईँका अनुसार क्यान्सर रोगका विषयमा समुदाय स्तरमा चेतना विस्तार गर्नु पर्ने धेरै विषयरहेका छन् ।
महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच गराउँदा अहिलेसम्म एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण गर्ने गरिएको थियो । गएको वर्ष ९८ जनाको परीक्षणमा एचपीभी १६ र १८ देखिएको थिएन । यसकारण यस वर्षको परीक्षणमा एचपीभी ६, एचपीभी ११, एचपीभी १६, एचपीभी १८, एचपीभी ३१, एचपीभी ३३, एचपीभी ४५, एचपीभी ५२ र एचपीभी ५८ को पनि जाँच गर्ने तयारी गरिएको वीर अस्पताल प्रयोगशालाका प्रमुख प्रकाश नेपालले जानकारी दिए ।
सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ ।

ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनुपर्छ ।

१ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।
FACEBOOK COMMENTS