काठमाडौं ।काठमाडौं महानगरपालिकाले एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान प्रारम्भ गरेको छ ।
महानगरको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट उक्त प्रणलीको प्रारम्भ गरिएको हो । लैनचौरस्थित वडा कार्यालयमा ०९–लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ गरेका हुन् ।
त्यस पछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै प्लेट जडान गरिने छ । प्रणाली खरिद तथा जडान कार्यका लागि वडाले आर्थिक वर्ष २०८१/८२ मा थालेको सार्वजनिक खरिद प्रक्रिया टुङ्गिएपछि प्लेट जडान थालिएको हो । यसको लागत ४५ लाख रुपैयाँ रहेको छ । ६ हजार ८५० घर संख्या रहेको वडाभित्र २०८२ कार्तिक मसान्तभित्र प्रणाली जडान गरिसक्ने योजना रहेको छ । यो कामको जिम्मा जेबिएस इन्फ्रास्ट्रक्चरलाई दिएइको छ ।
काठमाडौं महानगरपालिकाले विगत २ दशक देखि मेट्रिक ठेगाना प्रणाली कार्यान्वयन गरेको थियो । यो प्रणालीलाई रुपान्तरण गर्दै वडा नम्बर २६ ले प्रविधि सुहाउँदो डिजिटल ठेगाना प्रारम्भ गरेको हो । वडाध्यक्ष तिवारीका अनुसार पुरानो ठेगाना तथा बाटोका नामहरुलाई यथावत राखी क्युआर कोड र चिप्स सहितको ठेगाना प्लेट जडान हुनेछ ।
‘जडान गरिएको ठेगाना प्लेटमा नेपाली स्थानीय कोड सँगै युनिभर्सल गुगल प्लस कोड हुनेछ । प्लेट जडान भएका घरमा घरधनीहरुले प्लेटको फोटो पठाए मात्र पुग्छ । यसमा भएको क्युआर स्क्यान गरेपछि लोकेसनमा पुग्न सकिन्छ,’ वडा अध्यक्षले तिवारीले भने ।
एलमुनियममा लेजर मार्फत खोपेर तयार गरिएको एनएफसि ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेटलगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ । यसमा राखिएको आइडी नम्बर कतै दोहोरिँदैन । यो आइडी तथा ठेगाना, कोड अफ लाइनमा समेत खोज्न सकिने गरि बनाइएको छ ।
नम्बर प्लेटमा राखिएको क्युआर कोडको प्रयोगले घरमा आउने पाहुनाले डोर बेलको रुपमा प्रयोग गर्न सक्छन् । फोहर संकलनको जानकारी दिन, कुनै सर्भे गर्न, स्थानीय स्तरबाट कुनै सूचना प्रवाह जस्ता अत्यावश्यक कामका लागि छिटो र न्यून लागतमा काम गर्न सकिन्छ ।
विद्युतीय शासनको पहिलो पूर्वाधार भनेकै सेवाग्राहीको घर र ठेगाना प्रणाली हो । यसबाट विद्युतीय नागरिक सहभागिता सुनिश्चित गराउन सकिन्छ । यो भनेको शासन प्रणालीमा नागरिकको प्रत्यक्ष सहभागिता हुने अवसर हो । आफू बसेकै ठाउँबाट सेवा प्राप्त अवस्था हो । यो आधारमा टेकेर धेरै काम गर्न सकिन्छ । यो प्रविधि अन्य वडाहरुमा पनि विस्तार हुँदै जाने वडा कार्यालयले जनाएको छ ।
यसअघि करदाता र सेवाग्राहीको पहिचान गर्न नै कठिन थियो । आज प्रदान गरिएको घर नम्बर प्रणालीले सेवा प्रवाह, राजस्व संकलन जस्ता कामलाई स्मार्ट बनाउन सहयोग हुने प्रतिनिधिले बताएका छन् ।
प्रकोपका समयमा घटना स्थलमा छिटो पुग्न, आवश्यकताका आधारमा खोज तथा उद्धा र राहतका काम गर्न तथा यस्ता प्रकृतिका सेवाका लागि महत्वपूर्ण आधार बन्ने विस्वास गरिएको छ ।
FACEBOOK COMMENTS