काठमाडौं । विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्डको संयुक्त आयोजनामा काठमाडौँ विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुने भएको छ ।
समय र स्थानको सीमा नाघ्दै साहित्यिक सम्बन्धहरूलाई सुदृढ पार्ने उद्देश्यकासाथ विश्वभरका सांस्कृतिक साहित्य अनुसन्धाता, लेखक, प्राध्यापक, समीक्षक र विद्यार्थीहरू सदस्य रहनेअन्तर्राष्ट्रिय संस्था मेलो सन् १९९७ मा स्थापना भएको विद्वत्–सञ्जाल हो ।
असोज ११ देखि १३ गते (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म हुने ‘मेलो सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के–कस्ता प्रभाव पार्छन् भन्नेलगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
यो अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा करिब ८० राष्ट्रिय र एक सय २० अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय सहभागीहरू रहने छन् भने करिब एक सय २० वटा कार्यपत्रहरू प्रस्तुत हुनेछन्।
सम्मेलनको उद्घाटनमा भारतको दिल्ली विश्वविद्यालयका प्रा. कृष्णन उन्नी र नेपालको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. अम्मराज जोशीले मुख्य सम्बोधन गर्नेछन्। सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा. रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतको समूह छलफल( प्यानल डिस्कसन ) विशेष आकर्षणका रूपमा रहनेछन् ।
FACEBOOK COMMENTS