काठमाडौं । विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू १९६ रहेको छ।
उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ। थाइल्यान्डको चियाङ मेइ दोस्रो नम्बरमा र बंगलादेशको ढाका तेस्रो नम्बरमा रहेको छ।
भारतका २ शहर दिल्ली र कोलकाता, पाकिस्तानको लावर र भियतानमको हानोइ शहर पनि अस्वस्थकर प्रदुषण भएकामा परेका छन्।
गत बिहीबार वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले बारा, पर्सा, चितवनलगायत देशभर १४० भन्दा बढी स्थानमा लागेको डढेलो र कृषि अवशेष बाल्ने जस्ता प्रदूषणका स्थानीय स्रोतका कारण काठमाडौं उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढेको बताएको थियो।
प्रदूषणको यो तह जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर मानिन्छ। जनस्वास्थ्यविद् तथा वायु प्रदूषण विज्ञले कम्तीमा मास्क लगाउँदा केही हिसाबले असरबाट बच्न सकिने सुझाव दिएका छन्।
वायु प्रदूषणका कारण पछिल्ला वर्षमा नेपालमा श्वासप्रश्वाससम्बन्धी रोग, फोक्सोको क्यान्सरका साथै मुटुरोग, हाइपर टेन्सन, मस्तिष्कघातका बिरामीको संख्या बढेको पाइएको छ। घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजारको मृत्यु भएको, वायु प्रदूषणजन्य कुल मृत्युमध्ये १९ प्रतिशत ५ वर्षमुनिका बालबालिका हुने गरेको र २७ प्रतिशत ७० वर्ष उमेरमाथिका उमेर समूहका रहेको अध्ययनहरूले देखाएका छन्।
FACEBOOK COMMENTS