काठमाडौं । काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ ।
महानगरपालिकाकी उपप्रमुख एवम् अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा आज मंगलबार अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानीपूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो ।
‘अरुलाई नमूना भएर देखाउनु पर्ने अस्पतालहरु आफैँले कमजोरी गरेको देखियो । अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो । यो गलत प्रक्रिया हो,’ उपप्रमुख डंगोलले भनिन्, ‘रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादनस्थल बन्नु हुँदैन । यसलाई व्यवस्थापन गर्ने दायित्व महानगरपालिका एक्लैको होइन, अस्पतालहरुले आफूलाई स्वच्छ र स्वस्थ्य सेवा प्रवाह भएको प्रमाणित गराउनु पर्छ ।’
अस्पतालले फरक प्रकृतिको फोहोर राख्न रङ्ग संकेतको पालना नगरेको महानरगरले बताएको छ । यसबाट हानीकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनु पर्ने अवस्था आएको उपप्रमुख डंगोलले बताइन् ।
स्रोतमा फोहोर छुट्टिएको, हानीकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको यकिन नहुञ्जेल फोहोर नउठाउने महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले बताए ।
अस्पतालले हानीकारक फोहोर निर्मलीकरण गर्नका लागि उपकरण जडान गरेको छ । यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनु पर्ने टोलीले सुझाव दिएको छ ।
आज नै महाराजगञ्जमा भएको इन्टरनेशनल फ्रेन्डशीप चिल्ड्रेन हस्पिटलको अनुगमन भएको छ । अस्पतालले स्रोतमा फोहोर वर्गीकरण गर्ने अभ्यास व्यवस्थित गरेको पाइएको महानगरले जानकारी दिएको छ । ‘स्रोतबाट सङ्कलन भएको फोहोर प्रशोधन कक्षमा पुगेपछि एकै ठाउँमा हुने गरेको देखियो । हानीकारक फोहोर निर्मलीकरणका लागि राखिएको अटोक्लेभ मेसिन सञ्चालन भएको देखिएन । मेसिनमाथि धुलो जमेको थियो,’ टोली प्रमुख डंगोलले भनिन् ।
FACEBOOK COMMENTS