काठमाडौं । काभा महिला नेसन्स लिगको फाइनलमा आज नेपाली महिला राष्ट्रिय भलिबल टोलीले च्याम्पियन बन्ने अवसरका साथ भारतको सामना गर्दैछ ।
आज बुधबार साँझ ५ बजे दशरथ रङ्गशालामा हुने प्रतिस्पर्धामा यसपटक नेपाली टोली उच्च मनोबल र आक्रामक प्रदर्शनका साथ सहभागी हुँदैछ । फलस्वरुप नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई पहिलो पटक घरेलु कोर्टमै च्याम्पियन बन्ने अवसर मिलेको हो ।
यो प्रतिस्पर्धामा नेपाल दोस्रो पटक उपाधिको खोजीमा रहने छ । भारतसँग हुने प्रतिस्पर्धाको यो मौकालाई खेर जान नदिइ जित निकाल्ने नेपाली टोलीकी कप्तान अरुणा शाहीले विश्वास दिलाएकी छिन् । समूह चरणमा भारतलाई ३–२ को सेटले पराजित गरेपछि नेपाली टोली फाइनलमा पनि त्यही उत्साह बोकेर जाने तयारीमा छ ।
नेपालले यसअघि सन् २०१९ मा स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनल खेलेको थियो । भारतविरुद्धको फाइनलमा जितको नजिक पुगेर पनि नेपाली टोली ३–२ सेटमा पराजित भएको थियो । सोही कोर्टमा आज नेपालले च्याम्पियन बन्ने अवसर खोजिरहेको छ ।
FACEBOOK COMMENTS