त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक केदारभक्त माथेमा ‘चित्त नबुझेको कुरा पोख्नुपर्छ, बोल्नुपर्छ, विरोध गर्नुपर्छ, चुपचाप बस्न र सहन हुन्न, सहनु भनेको प्रजातान्त्रिक आचरण होइन’ भन्ने विचार राख्छन्। उनी भन्छन्, “जताततै दलगत राजनीतिबारे सरकार र नेतालाई सम्झाउनुपर्छ । प्रजातान्त्रिक अधिकार खुम्चन नदिन नागरिक समाज बोल्नैपर्छ । थिचोमिचो सह्यो भने प्रजातन्त्र धरापमा पर्छ । सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको आलोचना गर्नुपर्छ । प्रजातन्त्रमा हरेक नागरिक सचेत र सक्रिय हुनुपर्छ ।”
लामो समय प्राज्ञिक, कूटनीतिक र आर्थिक क्षेत्रमा रहेर अनुभवले खारिनुभएका उहाँ नागरिक समाजका प्रतिष्ठित व्यक्तित्व मानिनुहुन्छ । प्रजातन्त्र दिवस–२०८१ को सन्दर्भ पारेर २००७ सालको जनक्रान्ति, त्यसको महत्व, त्यसयता मुलुकमा भइरहेको राजनीतिक अभ्यासलगायत समसामयिक विषयमा प्राध्यापक माथेमासँग रेको कुराकानीको सम्पादित अंशः
अहिले केमा व्यस्त हुनुहुन्छ ?
पढ्ने कुरामा विशेष चाख लाग्छ । पढ्दा–पढ्दा थकाइ लागेपछि बगैँचामा काम गर्छु । बाहिर केही आयोजना हुने र आमन्त्रण गरिएका कार्यक्रममा भाग लिन्छु । भरसक घरमा एउटा कुनामा बसेर बढ्न मन लाग्छ ।
मुलुकको अहिले भइरहेको राजनीतिक अभ्यासलाई कसरी लिनुभएको छ ?
देशको समग्र अवस्थामा पहिलेभन्दा धेरै प्रगति भएको छ । राजनीतिक अभ्यास परिष्कृत पनि हुँदैछ । तर समृद्धिको कोणबाट मुलुक अहिले जुन ठाउँ पुग्नुपथ्र्यो त्यो भने भएको छैन । प्रगतिसँगै विकृति पनि छि¥यो भन्ने लाग्छ । मुलुकको प्रजातान्त्रिक व्यवस्थालाई परिमार्जित र सुधार गर्दै जानुपर्दछ । निर्वाचन प्रणाली धेरै खर्चिलो भएकाले विभिन्न क्षेत्रमा भ्रष्टाचार बढ्यो भन्नेलगायत कुरा सुनिन्छ । त्यसमा के–कसो भएको हो ध्यान दिनुपर्छ ।
प्रजातन्त्रका लागि योगदान गरेका राजनीतिक दलभित्र ‘प्रजातन्त्र छ कि छैन’ भनी पछिल्लो समय मानिसले सोधिरहेको अवस्था छ । दलभित्र प्रजातन्त्र हुनुपर्छ । प्रजातान्त्रिक पार्टीमा सोअनुसारको आचरण हुनुपर्छ । यो मामिलामा हामीले बाटो बिराएर गयौँ कि भन्ने लागेको छ, त्यसमा सुधार हुनुपर्छ ।
नेपाल प्रजातन्त्र, लोकतन्त्र हुँदै गणन्त्रतको अभ्यासमा रहेको वर्तमान पृष्ठभूमिमा २००७ सालको राजनीतिक परिवर्तनलाई कसरी सम्झनुपर्छ जस्तो लाग्छ ?
विसं २००७ अघि नेपाली समाजमा खासै केही नभएको बेला प्रजातान्त्रिक नयाँ व्यवस्था आयो । त्यस समयमा सरकार, कर्मचारीतन्त्र, सेना र प्रहरी प्रशासन कसरी चलाउने भन्ने व्यवस्थित संयन्त्र थिएन, त्यसको व्यवस्थापन गर्न ठूलो चुनौती थियो । मु्लुकभर त्यस बेला जम्माजम्मी ११ वटा माध्यमिक र करिब २०० को सङ्ख्यामा प्राथमिक विद्यालय थिए । विश्वविद्यालय थिएन । निजामती प्रशासन पनि राणाको हुकुममा चल्थ्यो ।
समाजका धेरै क्षेत्रमा सुधार गर्दै लैजानुपर्ने थियो । त्यस अवस्थाबाट यहाँसम्म आइपुग्दा तुलनात्मक रुपमा हेर्ने हो भने धेरै प्रगति हासिल भएको छ । हाम्रो कर्मचारीतन्त्र, सेना, प्रहरी र न्यायालय धेरै व्यवस्थित हुँदै गएका छन् । राणाको हुकुमी आदेश चलेको स्थानबाट देशले धेरै काम गरेर यहाँसम्म आइपुग्नु भनेको २००७ सालमा प्राप्त प्रजातन्त्रकै योगदान हो ।
चीनसँग सहकार्य गर्दा भारत सशङ्कित नहोस्, भारतसँग मिल्दा चीनले अप्ठ्यारो महसुस नगरोस् । हामीले भन्न सक्नुपर्छ दुवैसँग मित्रता बढाउन चाहन्छौँ । हामीले एउटासँग मित्रता गर्दा अर्कालाई कुनै असर हुने छैन भनी आश्वस्त पार्न सक्नुपर्छ
प्रजातान्त्रिक क्रान्तिको मूल मर्म र भावना के थियो ?
विसं २००७ को क्रान्तिको सन्देश भनेको भनेकै जहानियाँ राणा परिवारले देश चलाउने होइन । प्रजातान्त्रिक व्यवस्थामा मात्रै जनताका आवाज सुनिन्छ भन्ने हो । त्यो परिवर्तनले मुलुकमा नेपाली जनता सामेल भएको मन्त्रिपरिषद् गठन, आमनिर्वाचन, नयाँ संविधान लेखन मात्र नभई जनताको आवाज सुन्ने तथा देशमा उद्योगधन्दा खोल्ने, चुनावमा भाग लिने र लगानी गर्ने वातावरणसमेत बन्यो । त्यही क्रान्तिको जगमै नेपालले हालसम्मको उपलब्धि र प्रगति हासिल गर्न सम्भव भएको हो ।
विसं २००७ फागुन ७ गतेलाई नेपालको इतिहासमा कसरी लिने गरिएको छ ?
सहिदलाई सम्झने भनेको वर्षमा एक दिन उनीहरुका परिवारलाई सान्त्वना दिने मात्र होइन । सहिदले केका लागि बलिदानी दिएका थिए भन्ने जान्नुअघि प्रजातन्त्रको महत्व बुझ्न जरुरी छ । प्रजातन्त्रका लागि जीवनको आहुति भएको हुँदा त्यसको महत्व बुझेर सचेत हुनुपर्छ । सहिदलाई सम्झनु भनेको लोकतन्त्र बुझनु र त्यसमा आँच आउन नदिनु हो । नेपालको इतिहासमा २००७ साल भनेको अहिले अभ्यासमा रहेको लोकतन्त्र र गणतन्त्रको जग हो । त्यसको महत्वलाई उजागर गर्ने र संरक्षण गर्ने सबै नेपालीजनको कर्तव्य हो । त्यो मार्गबाट कोही पनि दायाँबायाँ लाग्न हुन्न ।
नेपालको राजनीतिक शासन व्यवस्था परिवर्तनमा सहिद धर्मभक्त माथेमाको ठूलो बलिदानी छ, उहाँको सपना के थियो ?
सहिद धर्मभक्त मेरो ठूलो बुबा हुनुहुन्थ्यो । उहाँ कलकत्तामा पढ्नुहुन्थ्यो । कलकत्ता त्यसबेलै असाध्यै प्रगतिशील ठाउँ थियो । बेलायती उपनिवेशको महत्वपूर्ण सहर थियो । त्यहाँ एक से एक व्यक्ति बस्थे । आज बङ्गालले जे कुरा सोच्छ, बाँकी विश्वले त्यो भोलि मात्र सोच्छ भन्ने मान्यता लिइन्थ्यो । भारतमा अङ्ग्रेजविरुद्धको आन्दोलनको प्रभाव त्यसबेला धर्मभक्तमा पर्न गयो । नेपालमा पनि प्रजातन्त्र चाहिन्छ भन्ने उहाँमा जागरण पैदा भयो । नेपाल आएपछि राजा त्रिभुवनलाई शारीरिक व्यायाम सिकाउने सिलसिलामा उहाँको दरबारमा प्रवेश भयो । त्यसबेला टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, बालकृष्ण सम, गङ्गालाल, दशरथ चन्दलगायत युवाले प्रजा परिषद् गठन गर्नुभयो । उहाँहरुको एउटै उद्देश्य र सपना भनेको निरङ्कुश शासन अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्नुपर्छ भन्ने थियो । जनताको शासन व्यवस्था हुनुपर्छ भन्नेमा दृढ हुनुहुन्थ्यो ।
मुलुकको आर्थिक र पूर्वाधार विकासका लागि वैदेशिक लगानी ल्याउनै पर्छ । युवापुस्तालाई रोजगारी दिन उद्योग-व्यवसाय खोल्न पनि वैदेशिक लगानी अत्यावश्यक हुन्छ । नेपालमा लगानीका लागि पर्यटन क्षेत्रमा पनि ठूलो सम्भावना छ । त्यो क्षेत्रलाई अझै राम्रो तुल्याउनुपर्छ ।
मुलुकमा धेरै राजनीतिक व्यवस्था फेरियोे तर जनताको अवस्थामा गुणात्मक परिवर्तन आएन भन्ने टिप्पणीप्रति यहाँको दृष्टिकोण के छ ?
मुलुकमा केही नभएको भन्ने होइन, धेरै नै भएको छ । युरोप र अमेरिकाजस्तो नहोला तर विश्वविद्यालय, अस्पताल, मेडिकल कलेज, सडक, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । तर सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो उपलब्धिबाट जनताले आफूलाई छोएको अनुभूति ग¥यो कि गरेन भन्ने मुख्य विषय हो । जनताले पनि देश र समाज रुपान्तरणको अभियानमा आफ्नो ठाउँ भरमग्दुर प्रयास गरिरहेको पाइन्छ ।
उदाहरणका लागि, मकवानपुरको चित्लाङमा जनता आफैँ चिज र वाइन उत्पादन गरिरहेका छन् भने पर्यटन प्रवद्र्धनका विभिन्न कोसिस भइरहेको छ । तथापि अझै नपुगेको जस्तो भइरहेको छ । विभिन्न कारण गाउँबस्तीमा जनसङ्ख्या पातलो हुँदैछ । विश्वविद्यालय र अस्पतालको सुगमताले त्यस्ता ग्रामीण बस्ती बढाउन सहयोग पु¥याउने छ । प्राथमिक विषय भनेको गुणात्मक परिवर्तनका लागि आमजनतामा अब मुलुकमा राम्रो हुँदैछ भन्ने राज्यले अनुभूति दिलाउन सक्नुपर्छ ।
जनअपेक्षालाई सम्बोधन गर्न अब कसरी अघि बढ्नुपर्छ जस्तो लाग्छ ?
सुनिँदै आएको छ, सरकारले पुँजीगत खर्च गर्न सकेन । त्यो अवस्थाले विकास कसरी सम्भव हुन्छ ? सरकारको पैसाले मात्र विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्न । बाहिरबाट सहयोग र लगानी आउनपर्छ । २५ वर्षअघि म विश्व बैङ्कमा काम गर्थे । त्यसपछि विश्वविद्यालय र राजदूत भई काम गरेँ । सत्य कुरा के हो भने कुनै पनि देश आफ्नो मात्र पैसा लगानी गरेर मात्र धनी भएको छैन । सिङ्गापुर, कोरिया, जापान, चीन, भियतनामलगायत मुलुकले बाह्य स्रोतलाई आकर्षण गरेर सफल भएका हुन् । त्यो नगरी हुन्न । वैदेशिक लगानी भित्र्याउन लगानीकर्ताले लगानी वातावरण, कानुनी प्रक्रिया, मुनाफाको सम्भावना र प्रणालीको सुनिश्चिता खोज्छन् । त्यो नभई लगानी आउन्न ।
मुलुकको आर्थिक र पूर्वाधार विकासका लागि वैदेशिक लगानी ल्याउनै पर्छ । युवापुस्तालाई रोजगारी दिन उद्योग-व्यवसाय खोल्न पनि वैदेशिक लगानी अत्यावश्यक हुन्छ । नेपालमा लगानीका लागि पर्यटन क्षेत्रमा पनि ठूलो सम्भावना छ । त्यो क्षेत्रलाई अझै राम्रो तुल्याउनुपर्छ । बढी पैसा खर्च गर्ने पर्यटक भित्र्याउनुपर्छ । देशका नेताहरु विभिन्न क्षेत्रलाई ‘हब’ बनाउने कुरा गर्नुहुन्छ तर त्यसमा गुणस्तरमा ध्यान दिनुपर्छ । गुणस्तर राम्रो भएपछि स्वतः आकर्षण बढ्छ नै । बाह्य स्रोत परिचालन, लगानीका लागि कानुनी प्रक्रिया सहज बनाउने र सुशासन कायम गर्ने कार्यलाई प्राथमिकतामा राखिनुपर्छ ।
जापान जस्तो समृद्ध मुलुकमा राजदूत भएर काम गर्नुभएको अनुभव छ, वास्तवमा देशको परराष्ट्र नीति र छिमेकीसँगको सम्बन्ध कस्तो हुनुपर्छ ?
परराष्ट्र नीति भन्ने कुरा सरकारको फेरबदलसँगै परिवर्तन हुनु हुँदैन । सरकार बदलिए पनि परराष्ट्र नीति बदलिँदैन, स्थिर भएर काम गरिरहन्छ । परराष्ट्र नीतिको कुरा गर्दा हाम्रा दुई छिमेकी भारत–चीनको चासोलाई सन्तुलित रुपमा कसरी सम्बोधन गर्ने भन्ने विषयलाई केन्द्रमा राखिनुपर्छ । उनीहरुका चासोलाई राम्रोसँग बुझ्नुपर्छ । गहिरो अध्ययन हुनुपर्छ । दुवै छिमेकीलाई चित्त बुझाएर अगाडि बढ्नुपर्छ । एउटाको सहयोग लिँदा अर्को रिसाउने अवस्था सिर्जना हुन दिनुभएन ।
छिमेकी हुनुका नाताले सहकार्य गर्न चाहन्छौँ भन्ने प्रस्ट धारणा राख्नुपर्छ । त्यसतिर ध्यान पु¥याउनुपर्छ । दुवै देशलाई गहिरोसँग बुझ्न अध्ययन गर्ने संस्था आवश्यक पर्छ । विशेषज्ञको व्यवस्था हुनुपर्छ । उनीहरुसँगको सल्लाहमा सम्बन्ध अघि बढाउनुपर्छं । विश्व अर्थतन्त्रका हिसाबले महत्वपूर्ण रहेका चीन र भारतबाट हामीले लाभ लिनु सक्नुपर्छ । छिमेकीसँगको सम्बन्धलाई सन्तुलित र प्रगाढ तुल्याएर लैजान हाम्रो परराष्ट्र नीति चुक्न हुन्न । छिमेकीलाई मिलाएपछि अरूसँगको सम्बन्ध स्वतः अघि बढ्छ । त्यसका लागि हाम्रा कर्मचारीलगायत संयन्त्रलाई बलियो बनाउनुपर्छ । परराष्ट्र मन्त्रालय पनि व्यवस्थित र व्यावसायिक हुनुपर्छ ।
छिमेकीसँगको सम्बन्ध सन्तुलित रुपमा अघि बढाउन थप के कस्तो नीति अवलम्बन गर्न आवश्यक देखिन्छ ?
चीनसँग सहकार्य गर्दा भारत सशङ्कित नहोस्, भारतसँग मिल्दा चीनले अप्ठ्यारो महसुस नगरोस् । हामीले भन्न सक्नुपर्छ दुवैसँग मित्रता बढाउन चाहन्छौँ । हामीले एउटासँग मित्रता गर्दा अर्कालाई कुनै असर हुने छैन भनी आश्वस्त पार्न सक्नुपर्छ । चीन र भारतसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ ।
नेपालमा पछिल्ला समय शिक्षाको गुणस्तरमा प्रश्न उब्जाइएको छ, यसप्रति यहाँको धारणा के हो ?
दलगत राजनीतिले विश्वविद्यालयलाई असाध्यै असर पा¥यो । बाह्य मुलुकमा विश्वविद्यालयलाई प्राज्ञले चलाउने स्थलका रुपमा लिइन्छ । विश्वविद्यालय चलाउने अभ्यासलाई ‘प्राज्ञ–गणतन्त्र’का रुपमा हेरिन्छ । विश्वविद्यालयमा दलगत राजनीति आउनुहुन्न । त्यहाँका विश्वविद्यालयका पदाधिकारी निर्वाचन प्रणालीद्वारा चयन गरिन्छ । विश्वविद्यालयमा राजनीति प्रवेश गर्दा गुणस्तर खुम्चिन्छ ।
पार्टीका मानिस जिम्मेवारीमा जानु राम्रो होइन । दलगत गन्ध आउनुहुन्न । त्यो बौद्धिक संस्था हो । क्षमतावान् मान्छेलाई जिम्मेवारी दिनुपर्छ । हावर्ड विश्वविद्यालयको डिन मुलुकभित्र नपाएपछि मेक्सिकोका पूर्वस्वास्थ्यमन्त्री ल्याइएको उदाहरण हामीले जानेका छौँ । विश्वविद्यालय हाँक्ने व्यक्तिको छनोट हाम्रोबाट नभई क्षमतावान् राम्रो प्राज्ञिक व्यक्तित्वको छनोट हुनुपर्छ ।
विश्वमै विश्वासिलो, सहासिक र अनुशासित भनी परिचय बनाएका नेपाली युवाको विदेश पलायनलाई कसरी रोक्न सकिन्छ ?
हात्तीलाई दृष्टिविहीनले छामेर विभिन्न कोणबाट अनुमान गरेजस्तै मेरो पनि यसमा आफ्नै खाले बुझाइ छ । युवामा नेपालमै मेरो भविष्य छ, यो क्षेत्रमा गर्न सक्छु । मेरो परिवार र साथीभाइ यहीँ छ, यहीँ बसेर केही गर्छु भन्ने भावना जागृत तुल्याउनुपर्छ । त्यो भावना राज्यको माथिल्लो तहबाटै आउनुपर्छ । त्यसका लागि आवश्यक वातावरण र आश्वस्त तुल्याउन हामीले सकेनौँ । केही समय पर्ख, अब यहीँ हुँदैछ भन्ने उत्साह भर्ने काम हुनुपथ्र्यो । सुशासन कमजोर, बलियो भ्रष्टाचारका कारण सेवाप्रवाहमा भइरहेको झमेलाले पनि युवालाई विदेश यात्रामा निस्कन बल प्रदान गरेको छ ।
सामान्य रोजगारीका लागि पनि भनसुन र नेताको फेरो समात्नुपर्ने, योग्यता र क्षमताका आधारमा अवसर प्राप्त गर्न नसक्ने अवस्था अन्त्य गरिनुपर्छ । सुशासनका पक्षमा उठेका आवाजलाई सम्बोधन गर्नुपर्छ । यो नभई उनीहरुले मेरो जीवन यहीँ छ, नेपालमै बसेर सफल पार्छु भन्ने खालको विश्वास जगाउन सक्नुपर्छ । सुशासन हुनुप¥यो, भ्रष्टाचार हुन भएन, सजिलोसँग जनताका काम हुनुप¥यो । अहिले त्यसतर्फ राज्यको ध्यान गएको छैन । जहाँ पनि दलगत राजनीतिक स्वार्थ छिरेको छ । त्यसले विकृति मौलाउन सहयोग गरेको छ । मैले एउटा जागिर पाउन कसैको फेरो नसमातीकन योग्यता र क्षमताका आधारमा अवसर पाउनुपर्छ । त्यो विश्वास आमनागरिकमा अलि घटेको अवस्था छ । सबैभन्दा ठूलो कुरा जनताको विश्वास हो । यो सरकार आएपछि राम्रो भएको छ, सुशासन प्रवद्र्धन भएको छ, अब नेपाल बन्दै गएको छ, अब त बन्यो–बन्यो भन्ने भावना जागृत गर्न सक्नुपर्छ । त्यसका लागि राजनीतिक दलको पनि उत्तिकै भूमिका छ ।
राज्यबाट पाउनुपर्ने सेवासुविधाको प्रक्रिया झन्झटिलोलगायतका कारण देखाउँदै नेपाली युवा विद्यार्थी विदेश पलायन भइरहेको अवस्था छ, आमनेपालीलाई आशा जगाउने यहाँका सन्देश केही छन् ?
चित्त नबुझेको कुरा पोख्नुपर्छ । बोल्नुपर्छ । विरोध गर्नुपर्छ । चुपचाप बस्न र सहन हुन्न । सहनु प्रजातान्त्रिक आचरण होइन । दलगत राजनीतिक जताततै भयो भनी सरकार र नेतालाई सम्झाउन सक्नुपर्छ । प्रजातान्त्रिक अधिकार खुम्चन लाग्यो भने नागरिक समाज अघि आउनुपर्छ, बोल्नुपर्छ । यस्ता गतिविधिले प्रजातन्त्रलाई बलियो तुल्याउँछ । थिचोमिचो सह्यो भने प्रजातन्त्र धरापमा पर्छ ।
हामीले लागेको कुरा प्रस्ट राख्नुपर्छ । जुनसुकै सरकार भए पनि राम्रा कामको समर्थन र नराम्रा कामको आलोचना हुनुपर्छ । स्वतन्त्र सहभागी हुनुपर्छ । आफू झ्यालबाट हेर्ने, कौसीबाट तल नझर्ने अनि नागरिक समाज खोइ त मात्र भन्ने गर्नुहुन्न । गलत कुराको विरोधमा सबैले सहभागिता जनाउनुपर्छ । प्रजातन्त्रमा हरेक नागरिक सचेत र सक्रिय हुनुपर्छ । त्यसैका लागि आह्वान गर्छु । -रासस
FACEBOOK COMMENTS