काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संसदमा माफी मागेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले देशभरि दलितमाथि भइरहेको विभेद, यातना, हिंसा र हत्याको सन्दर्भलाई निकै मार्मिक ढङ्गबाट उठान गरेका थिए ।
त्यस क्रममा चर्चित र प्रतिनिधिमूलक घटनाका श्रृङ्खलाहरूलाई उनले सिलसिलेवार तवरबाट प्रस्तुत गरेका थिए । तर, एउटा घटनाको तथ्य फरक पर्दा आजको बैठकमा उनले आफ्नो अभिव्यक्ति सच्याउँदै क्षमयाचना गर्नु परेको हो ।
प्रस्तुत घटनाहरूको श्रृङ्खलामा सांसद सुनारले कालिकोटको नरहरिनाथ गाउँपालिका–५ मा धारा छोएको निहुँमा मोना सार्कीको हत्या गरिएको विषय पनि समावेश गरेका थिए ।
तर, सो स्थानमा उनले उल्लेख गरेको जातीको शून्य बसोबास रहेको र उक्त घटनाको तथ्य मिथ्या भएको भन्दै सांसद कालीबहादुर सहकारीले संसदको रेकर्डबाट हटाउन माग गरेपछि सुनार संसदसमक्ष क्षमायाचना गर्न बाध्य भएका थिए ।

उक्त विषयमा सांसद सुनारले हत्या भएको विषय सही भएको तर, ठेगाना (वडा) फरक परेको स्वीकार गरेका छन् । तर, एउटा घटनाको ठेगाना फरक पर्दैमा सम्पूर्ण अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन आवश्यक नरहेको उनले बताए ।

‘घटना घटेको सत्य हो, ठेगाना तलमाथि पर्न गयो,’ उनले भने, ‘तथ्य तलमाथि पर्दैमा घटना नै नभएकोजसरी प्रस्तुति दिनु र पूरै अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग न्यायसँगत छैन ।’