काठमाडौं । आगामी २०८२ फाल्गुण २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रमका क्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले शुक्रबार रूकुम पश्चिम तथा जाजरकोट जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन् ।
जिल्लाको निर्वाचन तयारीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीसहित जिल्ला स्थित चारवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा जानकारी लिए ।
त्यस अवसरमा रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र २१ वटा मतदान स्थललाई अति संवेदनशीलमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराए ।
अर्थमन्त्रीले अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारी अवस्थाको जानकारी लिए । सो क्रममा मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीसँग हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा जानकारी लिए ।
जाजरकोट जिल्लाको स्थलगत अनुगमन गर्ने क्रममा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी गराए ।

अर्थमन्त्रीबाट अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिए । त्यस अवसरमा मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले हालसम्मको निर्वाचन तयारी अवस्थाका बारेमा जानकारी गरा ।

दुबै जिल्लामा निर्वाचन तयारी र आचारसंहिता पालना स्थितिको स्थलगत अनुगमन पश्चात अर्थमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रुपमा अगाडि बढेको, स्थानीयस्तरमा राजनीतिक दल र उमेदवारहरुका बीच स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण भएको र आम मतदाताहरुले भयरहित रुपमा निर्वाचनमा सहभागि हुन पाउने अवस्था रहेको समेत जानकारी गराए ।

FACEBOOK COMMENTS