काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री सीमा मल्होत्राबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–बेलायत सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गर्दै यी सम्बन्धहरूलाई आधुनिकीकरण गर्न आवश्यक रहेकामा जोड दिइएको मन्त्रालयले जनाएको छ । साथै, लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु कार्य र डिजिटल प्रविधि क्षेत्रहरूमा सहकार्य विस्तार सम्बन्धमा छलफल भएको थियो ।
सो अवसरमा मन्त्री खनालले पूर्व ब्रिटिश गोर्खाहरूका दशकौंदेखि समाधान नभएका चिन्ता र गुनासोहरूलाई यथाशीघ्र सम्बोधन गर्न मन्त्री मल्होत्रासँग अनुरोध गरे । मन्त्री मल्होत्राले बेलायती सरकार पूर्व ब्रिटिश गोर्खाहरूको समस्या समाधान गर्न सकारात्मक रहेको धारणा व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका हुन् । भ्रमणका क्रममा उनले अन्य सरकारी मन्त्रीहरूसँग पनि भेटघाट गर्ने तथा लुम्बिनी र कपिलवस्तु भ्रमण गर्ने कार्यक्रम रहेको छ ।