खोटाङ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा फोटोसहितको मतदाता नामावली संकलन अभियान सुरु गरिएको छ । आउँदो चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा शुक्रबारदेखि केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा मतदाता नामावली संकलन अभियान सुरु गरिएको हो ।
‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित पहिलो चरणको मतदाता नामावली संकलनको काम आगामी २६ मंसिरसम्म जारी रहने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी नासु लोकेन्द्रकुमार राईले बताए ।
मतदाता नामावली संकलन अभियानलाई सफल बनाउनका लागि रावाबेँसी गाउँपालिकाले वडा–वडामै कर्मचारी पठाउने व्यवस्था मिलाएको छ । १८ मंसिरदेखि २३ मंसिरसम्म प्रत्येक वडाबाट मतदाता नामावली संकलन गर्ने र त्यस पछिका समयभित्र छुटेका मतदाताको नामावली संकलन गरिने गाउँपालिकाले जनाएको छ ।
चार जनामध्ये एक जना कर्मचारी जिल्ला निर्वाचन कार्यालयले खटाएको छ भने सम्बन्धित स्थानीय तहबाट एक जना निर्वाचन सम्पर्क व्यक्ति ९दर्ता स्थल व्यवस्थापक०, एक जना सहायक दर्ता कर्मचारी र एक जना दर्ता स्थल सहयोगी जुटाइएको छ ।
दोस्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटो सहितको मतदाता नामावली संकलन अभियान सञ्चालन हुने छन् । दोस्रो चरणमा ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा मतदाता नामावली संकलनको तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपि सहित तोकिएको स्थानमा पुग्नुपर्ने छ । तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालयमा पुगेर फोटो सहितको मतदाता नामावली दर्ता गर्न सक्ने जनाइएको छ ।
FACEBOOK COMMENTS