काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्च सबैका लागि सधैंका लागि खुला गर्ने तयारी गरेको छ ।
भूकम्पपछि वीर अस्पताल, दरबार हाइस्कुल जस्ता संरचना पुनर्निर्माणका सामग्री राख्ने, काठमाडौं टावर निर्माणको निर्माण सामग्री राख्ने तथा अस्थायी बसपार्क सञ्चालन गर्ने प्रयोजनमा ल्याइएको खुलामञ्चलाई पुनर्निर्माण तथा सजावटको काम गरेर खुला गर्ने तयारी भइरहेको हो ।
प्राकृतिक दुबोसहितको घाँसे चौर खुलामञ्चको अहिलेको अवस्था हो । खुलामञ्चको चौरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखाबड मिलाइएको ठाउँमा नेपाली दुबो रोपेपछि अहिले चौर लोभलाग्दो भएको छ ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चौरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो ।
महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न ६ करोड ९८ लाख ७० हजार रुपैयाँ विनियोजन भएको छ । यही कार्यक्रमबाट खुलामञ्चको चौरमा दुबो रोपिएको हो । यसका लागि करिब ९० लाख रुपैयाँ खर्च भएको छ ।

चौरको वरिपरि ४ मिटर चौडाइको पैदल बनाइएको छ । सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरोन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरू ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनः प्रयोग गरिएको हो ।

पैदल मार्गमा २१ वटा बिजुलीका पोल राखिएका छन् । यी पोलहरू न्यूरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुनः प्रयोग गरिएका हुन् । यी पोलहरूमा टू आर्म छन् । यसमध्ये एउटा मैदानतर्फ फर्किएको आर्ममा १ सय वाट क्षमताको र एउटा पैदल मार्गतर्फ फर्किएको आर्ममा ३० वाट क्षमताको बत्ती राखिएको छ । यी बत्तीहरू डे नाइट सेन्सरयुक्त छन् । रातमा बल्छन् । दिनमा आफैं निभ्छन् ।

चौरबाट पश्चिमतर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ गर्ने ठाउँ बनाइएको छ । यो ठाउँ भलिबल, ब्याडमिन्टन जस्ता खेल र पार्किङजस्ता प्रयोजनमा ल्याउन सकिन्छ । यदि यहाँ पार्किङ गरियो भने ४० वटा चारपाङ्ग्रे र १ सय वटा २ पाङ्ग्रे सवारीसाधन राख्न सकिन्छ ।

पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न महानगरपालिकाले नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग २०८१ वैशाख १० गते नीतिगत सहमति–पत्रमा हस्ताक्षर गरेको छ । त्यसै सहमतिका आधारमा त्यही महिनाको २३ गते खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता भयो । त्यही सम्झौताका आधारमा २०८१ वैशाख २४ गतेदेखि महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङको काम थालेको थियो ।

ग्रेडिङ र लेभलिङको काम सकिएपछि चौरमा पानी नजम्ने र सतहको पानी पुनः भरण हुने भएको छ । ग्रेडिङ र लेभलिङपछि दैनिक ५० जना जनशक्ति परिचालन गरेर करिब ३ महिना मैदानका ढुङ्गा टिप्न लगाइएको थियो । यसका लागि चौरका ६ ठाउँमा ४ फिट व्यास र ४ फिट नै गहिराइ भएका वाटर रिचार्ज पिटहरू बनाइएका छन् ।
खुलामञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ ।
पूर्वाधार निर्माण र सजावटका सबै काम सकेपछि खुलामञ्च सबैका लागि खुला गर्ने योजना रहेको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिए । बहुउपयोगी स्थानका रूपमा यसको प्रयोग हुनेछ । बिहान शारीरिक अभ्यास गर्न सकिनेछ । बालबालिकाहरूका लागि स्वतन्त्र खेल्ने ठाउँ हुनेछ । पाका उमेरका व्यक्तिहरूका लागि टहल्ने, आराम गर्ने र सहरी जीवन नियाल्ने ठाउँ हुनेछ । मर्निङ वाकका लागि उपयुक्त मार्ग हुनेछ । युवाहरूलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ ।
FACEBOOK COMMENTS