काठमाडौं । बङ्गलादेशको उत्तरपश्चिमी जिल्ला जयपुरहाटमा रहेको सानो गाउँ अहिले ‘एक किड्नी गाउँ’ को रूपमा कुख्यात भएको छ । यहाँ प्रत्येक ३५ जनामा एक जनाले आफ्नो मिर्गौला बेचेको पाइएको छ ।
अल जजीराको रिपोर्ट अनुसार, भारत र बङ्गलादेशबीच भइरहेको यो अवैध अंग तस्करीले धेरै परिवारको जीवन बर्बाद पारेको छ ।
४५ वर्षीय सफिरुद्दीन यस गाउँका बासिन्दा हुन् । २०२४ को गर्मीमा, उनी भारत आए र आफ्नो मिर्गौला २.५ लाख भारुमा बेचे । उनको उद्देश्य गरिबीबाट बाहिर निस्केर आफ्ना तीन बच्चाहरूको लागि घर बनाउने थियो । तर अब उनको घर अधुरो छ, शरीरमा निरन्तर पीडा छ र काम गर्ने शक्ति बाँकी छैन ।
भारतमा मानव अंग प्रत्यारोपण ऐन १९९४ अनुसार, मिर्गौला दान नजिकका आफन्तहरूबीच वा सरकारी स्वीकृतिमा मात्र गर्न सकिन्छ । तर दलालहरूले नक्कली कागजातहरू र सम्बन्धको नक्कली प्रमाण मार्फत मिर्गौला किनबेच गरिरहेका छन् ।
अल जजीराको रिपोर्टमा बिनाई गाउँकी विधवा जोशना बेगम र उनका दोस्रो पति बेलाललाई २०१९ मा एक दलालले भारत लगेर कोलकाताको एक अस्पतालमा प्रत्यारोपण गरेका थिए । पहिले ७ लाख टाका (बङ्गलादेशी मुद्रा) दिने वाचा गरिएको थियो, तर शल्यक्रिया पछि ३ लाख मात्र प्राप्त भएको उनीहरुले बताए ।
जोशनाले आफुले आफ्नो मिर्गौलाको पूरा पैसा नपाएपछि अहिले आफैं दलाल बनेकी छन् । ई–कमर्स ठगीमा सबै कुरा गुमाएपछि, ढाकाका व्यापारी मोहम्मद सजल (नाम परिवर्तन गरिएको) ले २०२२ मा दिल्लीमा आफ्नो मिर्गौला बेचे । तर उनले जब कबुल गरिएको ८ लाख पाएनन् उनी आफैं दलाल बने र अन्य बङ्गलादेशीहरूको लागि प्रत्यारोपणको व्यवस्था गर्न थाले । यो गिरोह दुवै देशका डाक्टर, अस्पताल र दलालहरूसँग जोडिएको रिपोर्टमा उल्लेख छ ।
बङ्गलादेश प्रहरीले अंग तस्करी नेटवर्कमाथि कारबाही तीव्र पारेको दाबी गरेको छ र धेरै दलालहरूलाई पक्राउ गरेको छ ।
त्यस्तै दिल्ली प्रहरीले जुलाई २०२४ मा एक महिला सर्जनलाई पक्राउ गरेको थियो, जसलाई १५ बङ्गलादेशी बिरामीहरूको अवैध प्रत्यारोपण गरेको आरोप थियो ।
भारतमा स्वास्थ्य पर्यटन ७.६ अर्ब डलरको उद्योग रहेको छ र धेरै प्रत्यारोपणको अर्थ बढी कमाई हो । यस्तो अवस्थामा, अस्पतालहरूको मौनताले पनि यो व्यापारलाई बढावा दिइरहेको छ । प्रतिवेदनले दलालहरूलाई उद्धृत गर्दै बिरामीहरूले मिर्गौलाको लागि १८ देखि २२ लाख भारुसम्म तिर्छन्, जबकि मिर्गौला बेच्नेहरूले २.५ देखि ४ लाख मात्र पाउँछन् । बाँकी पैसा अस्पताल, दलाल, कागजात निर्माता र डाक्टरहरूबीच बाँडिन्छ ।
प्रतिवेदनका अनुसार, केही अवस्थामा मानिसहरूलाई जागिरको बहानामा भारत लगिएको थियो र पछि जबरजस्ती वा जालसाजीपूर्वक शल्यक्रिया गरिएको समेत पाइएको छ ।
मिर्गौला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंगहरू मध्ये एक हो । यसले फोहोर पदार्थ, अतिरिक्त पानी, चिनी र रगतबाट शरीरलाई नचाहिने सबै चीजहरू हटाउने काम गर्दछ । यी विषाक्त पदार्थहरू मूत्राशयमा जम्मा हुन्छन् र त्यसपछि पिसाबसँगै शरीरबाट बाहिर निस्कन्छन् । यदि मिर्गौला बिरामी भयो भने, यसले राम्ररी काम गर्न बन्द गर्छ । विश्वभर लाखौं मानिसहरू मिर्गौला सम्बन्धी रोगहरूसँग बाँचिरहेका छन् । तिनीहरूमध्ये धेरैजसोलाई थाहा पनि छैन, उनीहरूलाई मिर्गौला रोग छ । यही कारणले गर्दा मिर्गौला रोगलाई मौन हत्यारा पनि भनिन्छ ।
FACEBOOK COMMENTS