रुढ्कि, विश्वविद्यालयबाट (IIT,Roorkee),वि.ई.सिभिल,१९८८ मा इन्जिनीयरिङ गरेका ई. किरण मल्ल ले त्यसै बेलादेखि जलविद्युत्को क्षेत्रमा काम गर्न सुरू गरेका थिए । काम गर्दागर्दै उनले नर्वेबाट जलविद्युत्को विकास, तथा व्यवस्थापन सम्बन्धी पोष्ट ग्राजुट अध्ययन पूरा गरेका करिब ४ दर्जन आयोजनाहरूका विभिन्न कम्पनीबाट काम गरिसकेका छन् ।
३५ वर्ष भन्दा लामो समयदेखि यो क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका मल्ल पछिल्लो समय युनियन मेवा हाइड्रो लीमिटेड र हाई हिमालय हाइड्रो कन्सट्रक्सन प्रालिका कार्यकारी अध्यक्ष छन् ।
पुल्चोक क्याम्पस बाट सर्टिफिकेट इन सिभिल इन्जिनियरीङ समेत गरेका ई.किरण मल्ल जल विद्दुत क्षेत्रमा काबिल र अनुभवि व्याक्ति हुन । पछिल्लो समय उनले नेतृत्व गरेका मिदिमखोला प्रोजेक्ट निर्माण सम्पन्न भइसकेको छ भने उनकै नेतृत्वमा मेवाखोला (२३ मेगा) निर्माणाधीन छ । यसैगरी २९ मेगावाट क्षमताको सोलु र ६० मेगावाट क्षेमताको तमोर हाइड्रोपावर पीपीएको चरणमा छ । यस्तै, उनले लाइसेन्स लिएर अगाडि बढाएका कालंगा हाइड्रोपावर अन्तर्गतका जम्मा ६५ मेगावाट क्षमताका तीन वटा प्रोजेक्ट निर्माण सम्पन्न भइसकेका छन् ।
उनी हिमाल हाइड्रो, बुटवल पावर लगायत कम्पनीमा काम गर्दादेखि नै दर्जन भन्दा बढी आयोजनाहरूको लाइसेन्स लिएर अध्ययन, विकास तथा निर्माण कार्य सम्पन्न गरेका अनुभवी इन्जिनीयर र कुशल व्यवस्थापक समेत हुन् ।
उनी नेपाल हाइड्रोपावर एशोसियसन (NHA) का पुर्व अध्यक्ष समेत हुन ।हाइड्रोपावर क्षेत्रमा लामो अध्ययन गरेका तथा अनुभवले समेत खारिएका किरण मल्ल यही जेठ ३२ गते हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)को साधारणसभाबाट अध्यक्ष बन्ने तरखरमा छन् ।
अध्यक्षको प्रत्याशी बनेर तीव्र प्रचारप्रसारमा लागेका मल्लसँग हामीले उनको चुनावी योजना, एजेण्डा, रणनीतिलगायत विभिन्न विषयमा कुराकानी गर्ने प्रयास गरेका छौँ । प्रस्तुत छ, मल्लसँग गरिएको कुराकानीको सम्पादित अंश:–
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) कस्तो संगठन हो ?
जति पनि स्वतन्त्र ऊर्जा उत्पादकहरू छन् ती कम्पनीका जति पनि आयोजनाहरू छन्, जससँग आयोजना विकास गर्ने लाइसेन्स छ, त्यस्तो संस्था वा आयोजनाहरू यो संस्थाको सदस्य बन्न सक्दछन् । यो संस्थाले ऊर्जा उत्पादकहरूको हित र भलाइका लागि काम गर्ने उदेस्यले दर्ता भएको संस्था हो । जलविद्युत् उत्पादकहरूका कारण नै अहिले मुलुक ऊर्जा सङ्कटबाट टाढा बन्दै गएको छ अर्थात् लोडसेडिङबाट क्रमश: मुक्त बन्दै गएको छ ।
मुलुकको ऊर्जा उत्पादनमा सहयोगी रहेका प्रवद्र्धकहरूको संस्था इपानमा नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेको छ । त्यसमा तपाइँ पनि प्रत्यशीका रुपमा प्रस्तुत हुनुभएको छ । खासमा के उद्देश्य र योजनासहित नेतृत्वको दाबी गरिरहनुभएको हो ?
म यो क्षेत्रमा लागेको ३५ वर्ष भन्दा बढी समय भइसकेको छ । पेशाले सिभिल इन्जिनीयर, आफ्नो अध्ययन पूरा गरिसकेपछि यही जलविद्युत्को विकास र निर्माण गर्ने काममा निरन्तर लागि रहेको छु ।
जलविद्युत्को उत्पादन, विकास, अध्ययन, कन्सल्टिङ, कन्स्ट्रक्शन गर्ने, संचालन अपरेशन गर्ने, यसैको सेरोफेरोमा मैले ३५ वर्ष खर्च गरेको छु । अहिले मेरो छोरा र छोरीले समेत यही क्षेत्रलाई अपनाएर काम गरिरहेका छन् । मैले यो क्षेत्रमा काम सुरू गर्दा नेपालमा धेरैजसो विदेशीहरूले आयोजना, अध्ययन तथा निर्माण गरिरहेका थिए । तर, अहिले त्यो क्रम क्रमश: हट्नाका साथै नेपालीहरूले उच्च क्षमताका साथ आफ्नो उपस्थिति बलियो र बाक्लो बनाएका छन् । साथसाथै लगानीमा पनि नेपाल साना, मझौला आयोजनाहरुमा आत्मनिर्भर बनेको देखिन्छ ।
मेरा यिनै अनुभवहरूलाई थप क्रियाशील बनाउँदै ऊर्जा उत्पादकहरूको हक र हितका लागि काम गरेर यो क्षेत्रको विकासमा थप नयाँ गर्छु भन्ने उद्देश्यका साथ मैले इपानको नेतृत्वमा दाबी गरेको हुँ । मलाई विश्वास छ, मेरा अनुभव र परिपक्वताले यो संस्थालाई म नयाँ गति दिन सक्षम छु । यस क्रममा एउटा अनुभवी व्यक्ति नेतृत्वमा आउने कुरालाई मेरा विभिन्न तह र तप्कामा रहनुभएका सहयात्रीहरूले पक्कै पनि स्वीकार गर्नुहुनेछ भन्ने पनि मलाई पूर्ण विश्वास छ । मैले सो संबन्धमा मेरा प्रतिवद्धता सार्वजनिक गरीसकेको छु । जुन विभिन्न संघ संस्थाहरुसंग वेग्ला वेग्लै समसामयिक चुनौती रुपमा देखीएका छन् र त्यसका समाधान मा कसरी ईपान अगाडी बढ्नु पर्छ भन्ने प्रस्ट हुन्छ ।
तपाइँले यदि इपानको नेतृत्व लिनुभयो भने संस्थामा के–कस्ता परिवर्तन आउन सक्छन् ?
मुख्य कुरा म मेरो पूर्ण समय संस्थालाई दिदै काम गर्ने प्रयास गर्नेछु । अनुभवलाई उपयोग गर्नेछु र संस्था र संस्थाका सदस्यहरूको अधिकतम हितका लागि काम गर्नेछु । कम्तीमा पनि म नेतृत्वबाट बाहिरिदै गर्दा पनि साथीहरूले सम्झनालायक कामहरू भएका हुनेछन्, म त्यो गरेर देखाउनेछु । कतिपय कुराहरू हामीले सोचेको जस्तो नहुन पनि सक्छ । तर, पनि भरपूर कोशिस गरेको थियो, टीममा राम्रोसँग काम गरेको थियो भनेर साथीभाइहरूले सम्झिनेगरी काम गर्ने मेरो योजना छ । यसमा मैले विस्तृत रुपमा नै लिखित प्रतिवद्धता जाहेर गरेको छु । प्रतिवद्धताहरु यसै संग संलग्न गरेमा प्रष्ट हुनेछ ।
यो संस्थाबाट केही कमाउने, अरु केही फाइदा लिने वा पदको दुरुपयोग गर्ने भन्ने यहाँ हुँदैन । त्यसकारण विशुद्ध सेवा नै गर्ने उद्देश्यका लागि मैले नेतृत्वको आकांक्षा देखाएको हुँ ।
चुनावी प्रतिस्पर्धा भनिसकेपछि एजेण्डाहरूको पनि खोजी हुन्छन् । विशुद्ध सेवा गर्नेबाहेक तपाइँका केही ठोस योजनाहरू पनि त होलान् । त्यसबारे पनि बताइदिनुहोस् न ?
नेपालमा हइड्रो प्रोजेक्ट निर्माण गर्न सहज छैन । साथसाथै यो व्यापक र फैलिएको क्षेत्र पनि हो । एउटा अनकन्टार क्षेत्र जहाँ बाटो–घाटो नै हुँदैन, त्यस्तो ठाउँमा ढुङ्गा, टिट्टी, बालुवा, रुख, जमीन, जंगल र त्यहाँको भौगर्भिक बनावटलगायत समस्यासँग हामीले जुध्नुपर्छ।अर्कोतर्फ नीतिनियम, वातावरण, स्थानीयका स्वाभाविक वा अस्वाभाविक मागहरूसँग पनि हामीले प्रत्यक्ष जुध्नुपरिरहेको छ । प्राकृतिकबाहेकका समस्यालाई कानुनी, व्यवहारीक रुपमा धेरै हदसम्म कम गर्न सकिन्छ । त्यसका लागि मैले पहलकदमी गर्नेछु ।
यस्तै, कुनै एउटा हाइड्रो प्रोजेक्ट निर्माण गर्नका लागि सुरूमै निकै ठूलो पुँजी लगानी गर्नुपर्ने हुन्छ । बैंकहरूलाई पुजी मोविलाइज गर्ने, संघ, प्रदेश र स्थानीय तहका सरकारहरूसँग समन्वयन गर्दा सहज हुनेगरी नीति नियम बनाउनुपर्ने आवश्यकता छ, यसमा मैले पहल गर्नेछु । आयोजनाहरु वित्तिय व्यवस्थापन गर्न बैकिंङ तथा संबधित निकायहरुको भुमिकालाई सहजीकरण गर्नमा मेरो भुमिका रहनेछ । रुग्ण आयोजनाहरूलाई सरकारले फेसिलेटेड गर्ने वातावरण निर्माण गर्ने प्रयास गर्नेछु । यो सबै सम्पत्ति राज्यको हो । निश्चित समयपछि सरकारलाई नै हस्तान्तरण गर्ने सम्झौता हुन्छ । त्यसकारण सरकारले यो कुरालाई सहजीकरण गर्दा बेखुसी हुनुपर्ने र गुमाउने पर्ने अवस्था छैन । अब त उत्पादनपछि बिक्रीको पनि कुरा महत्वपूर्ण बनेको छ । त्यसका लागि पनि लाइसेन्स लिने व्यवस्था गर्नका लागि सार्थक पहल गर्नेछु ।
यो क्षेत्रमा निरन्तर ३५ वर्ष बिताउँदा संगाल्नुभएको अनुभव र महसुस गर्नुभएको चुनौतीहरूचाहिँ के–के हुन् नि ?
मैले विभिन्न आयोजनाहरूको विकास गर्ने, आयोजनाहरूलाई अध्ययन गर्ने, आयोजनाहरूको डिजाइन र कन्स्ट्रक्शन गर्ने तथा निर्माणपछि अपरेशनलगायत यावत कामको लामो अनुभव हासिल गरेको छु ।
कन्स्ट्रक्शन कम्पनी हिमाल हाइड्रो विद्युत् उत्पादन, वितरण र कन्सल्टिङ कम्पनी बुटवल पावर, निजी क्षेत्रबाट निर्माण भएको नेपालकै पहिलो र ठूलो खिम्ती हाइड्रो जलविद्युत् आयोजनामा समेत काम गरेको छु ।
यस्तै, आँधीखोला, झिमरुक, खिम्ती, मिदिमखोला, कालंगा, रुदी, रुरु, माईखोला, हेवाखोला, सुपरदोर्दी, खिम्ती (२,मिस्त्री, लिखु, मैलुङग, तादिखोला, माईखोला, पुवाखोला, राहुघाट विभिन्न आयोजनाहरुमा विभिन्न कम्पनीबाट विभिन्न पक्षबाट आयोजनाहरुको अध्ययन विकास तथा निर्माणमा केकस्ता चुनौती छन् भन्ने अनुभव ज्ञान हासील गरेको छु ।
ती समस्याहरूलाई कसरी समाधान गर्नुपर्छ भन्ने विषय राम्रोसँग पहिचान गरिसकेको, पढाइले मात्र नभए अनुभव ‘पराइ’ले पनि भुक्तभोगी व्यक्ति हुँ ।
अब चुनौतीको कुरा गर्नुपर्दा, नेपालको भौगोलिक, अवस्था नै जलविद्युत् आयोजना निर्माणको एउटा चुनौती हो । त्यसमाथि पहाड र चट्टानको बनोट कमजोर खालको रहेका सुरूङमार्गलगायत काम समयमै र तोकिएको लागतमा सम्पन्न गर्न चूनौती छ । बर्खाको समयमा धेरै पानी पर्ने र आयोजनाहरूनै डुबाउने तथा बगाउने समस्या छ भने हिउँदमा पानी नपुगेर क्षमता अनुसारको उत्पादन गर्न सकिरहेका छैनौँ । यसैगरी बाढी, पैरो, भूकम्पलगायत प्राकृतिक प्रकोपका कारण पनि नेपालका सतहमा भएका विद्युत् गृहहरू जोखिममा रहेको हामी पाउँछौँ ।
जसको उदाहरण हामी भोटेकोशी जलविद्युत् आयोजनालाई लिन सक्छौँ ।
यस्तै, प्रवेशमार्ग नहुनु, पुँजी जुटाउन सहज नहुनु, विस्फोटक पदार्थको सीमितिता हुनु, ढुवानीमा एयरलिफ्टङ गर्नुपर्ने बाध्यतालगायत हाम्रा समस्याहरू छन् । यसैगरी, स्थानीयहरूको अस्वाभाविक माग र चाहना तथा त्यसलाई पूर्ति गर्ने लगानी तथा पुँजीको सीमितिता हुनुलगायत समस्याहरू पनि हामीले भोगिरहेका छौँ । वन जंगल, जमीन को मुद्धा पनि उर्जा उत्पादनका चुनौती पुर्ण छन्, उत्पादन लागत कम गराउन पर्ने, एएब् को उचित दर कायम गर्नुपर्ने, लाइसेन्स का अवधि बढाउनु पर्ने, च्ऋइम् लाई समेत सामयिक थप गर्नुपर्ने चुनौतीहरु समेत छन् ।
धेरै मान्छेहरू ज्ञान नभए पनि पैसा भएका कारण लगानीकर्ता बनिरहेका देखिन्छन् । तपाइँ आफूमाचाहिँ यो क्षेत्रबारेको सैद्धान्तिक ज्ञान कत्तिको छ ?
हुन त मैले यति पढेँ, उति पढेँ भन्दा कसैलाई चोट पर्न पनि सक्छ भने मलाई ‘मपाइँ’को आरोप आउन पनि सक्छ । यद्यपि, तपाइँले प्रश्न सोधिसक्नुभएपछि भएका कुरा भन्नैपर्ने हुन्छ । म सिभिल इन्जिनीयर साथै मैले नर्वेबाट हाइड्रोपावर डेभलपमेन्ट प्लानिङ म्यानेजमेन्ट अध्ययन गरेको छु ।
सैद्धान्तिक ज्ञानका साथै साढे तीन दशक लामो अनुभव त छँदैछ । त्यसैले मेरो यो क्षत्रमा सही पढाई, ज्ञान र अनुभव छ भन्नु पर्दा असहज हुनु पर्ने अवस्था छैन । यस क्षेत्रमा जल, जगंल, जमीन, वतावरण संघीय ऐन, नियम कानुनलाई पनि सहजीकरण गरी उर्जा उत्पादन छिटो भन्दा छिटो सम्पन्न गर्न सक्ने वातावरण बनाउन जरुरी छ ।
तपाइँको उम्मेदवारीको योग्यताबारे पनि प्रश्न उठेको पाइन्छ नि ?
इपानको विधानले तोकेको परिधिभित्र रहेर मैले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ । अध्यक्ष बन्नका लागि एक कार्यकाल कार्यकारिणी सदस्य भएको हुनुपर्दछ । त्यो म भइसकेको छु । डा. सुवर्ण श्रेष्ठ अध्यक्ष हुनुभएको तेस्रो कार्यसमितिमा म कार्यकारिणी सदस्य थिएँ ।
त्यसअघि यो संस्थाको स्थापनाकालमा पनि मैले बुटवल पावर कम्पनीको तर्फबाट इपानमा प्रतिनिधित्व गरेको थिएँ । त्यसयता संस्थाको कार्यकारी समितिमा नरहे पनि मैले आफ्नो तर्फबाट सहभागी भई, सहयोग गर्दै आएको हुँ ।
म पुरानो सदस्य भएका कारण आजभोलि आउनुभएका नयाँ साथीहरूलाई कम जानकारी हुनुलाई मैले अन्यथा लिएको छैन । म यो संस्था ईपान संग लगातार जोडी रहेको अवस्था हो ।
अनि आफ्नी छोरीलाई उपाध्यक्ष बनाउने रणनीति अनुसारमात्रै तपाइँले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको भन्ने चर्चा पनि छ त ?
चुनावको बेला यस्ता खालको चर्चा र हल्ला हुनु स्वाभाविक हो । तर, साथीहरूले तथ्यमा रहेर बोलिदिनुभएको भए हुन्थ्यो भन्ने मात्रै मेरो अनुरोध छ । म विशुद्ध रुपमा संस्थालाई योगदान गर्ने र संस्थामा आवद्ध सदस्य सार्थीहरूको हितका निम्ती अघि बढेको हुँ ।
मेरी छोरी अहिले जे–जस्तो पोजिसनमा छिन् उनी आफ्नै क्षमता र लगनशीलताले भएकी हुन् । उनले अझै राम्रो गर्दै जानेछिन् भन्ने विश्वास मलाई छ । मैले छोरीका लागि वा कुनै बाहानामा उम्मेदवारी फिर्ता लिनेछैन ।
मेरो उद्देश्य नै फरक छ त्यसैले कसैसँग कम्प्रोमाइज गर्ने पक्षमा म छैन । मेराबारे नराम्रो प्रचार गर्ने केही नभएकाले गरिएका यस्ता हल्लाखल्लाको पछि नलाग्न यस क्षेत्रमा अग्रज तथा सम्पुर्ण उर्जा उद्यमीहरु सबैमा अनुरोध पनि गर्दछु ।
तपाइँले उम्मेदवारी फिर्ता लिने सम्भावना कति छ ?
संस्थालाई योगदान गर्नेबाहेक मेरो अरु कुनै स्वार्थ नभएकाले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता हुँदैन । कसैलाई त्यस्तो लागेको छ भने यो भ्रमबाट मुक्त हुन र आफ्नो चुनावी कार्यक्रममा अगाडि बढ्न आग्रह गर्दछु ।
नेतृत्वका लागि पुरानो कार्यकारिणी सदस्य भन्दा अहिले पदाधिकारीमा रहनुभएका नयाँ अनुहार नै उपयुक्त र स्वाभाविक उम्मेदवार हुन् भनेर कसैले तर्क गर्यो भने के भन्नुहुन्छ ?
पहिलो कुरा त इपानको अध्यक्ष बन्नका लागि पदाधिकारी बन्नैपर्छ भन्ने बाध्यकारी व्यवस्था नभएको कुरा यहाँलाई स्पष्ट गर्न चाहान्छु । यो क्षेत्रलाई अनुभवी र सक्षम र विषय बुझेको नेतृत्वको खाँचो छ । त्यसरी बुझेर आएको व्यक्तिलाई ढोका खुला गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।
यद्यपि, संस्थाको संशोधित विधानले यस्ता केही कुराको व्यवस्था गरेको छ । तर, त्यो अहिलेको निर्वाचनमा पूर्ण रुपमा लागू हुने होइन । कुनै पनि बेला संशोधन पनि हुन सक्छ । जलविद्युत्को क्षेत्रमा पदाधिकारी भएर मात्रै त्यो क्षेत्रको अनुभव हासिल गरेको र भिजेको भन्न मिल्दैन ।
कतिपय व्यक्तिले संस्थाको कार्यसमितिमा नरहेर पनि थुप्रै अनुभव हासिल गरेको हुन्छ, उसको पनि सम्मान गर्नुपर्छ । सैद्धान्तिक ज्ञानका साथै अनुभवले समेत सक्षम व्यक्तिलाई नेतृत्व दिइयो भने सबैका लागि फाइदा हुनसक्छ ।
निर्वाचन प्रक्रियामा निर्वाचनको विकल्प सहमतीय प्रक्रिया पनि छ । सहमतिका लागि तपाइँलाई अध्यक्षबाहेकको विकल्प दिइयो र सहमति गर्नैपर्ने अवस्थामा के गर्नुहुन्छ ?
यदि भावी नेतृत्वका लागि सहमतीय प्रक्रिया अपनाइयो भने पनि अध्यक्ष बन्ने म नै हुँ भन्ने मेरो दाबी छ । किनभने समन्वयकर्ताहरूले कुनै पूर्वाग्रह नराखी समन्वय गरेर निर्णय लिनुभयो भने मेरो विकल्प अरु छैन । किनकी उहाँहरूले इपानको नेतृत्वमा कस्तो व्यक्ति चाहिन्छ भन्ने कुरामा राम्रो अध्ययन गर्नुभएको हुनेछ भन्ने मेरो वश्वास छ । अर्को कुरा, चुनाव नै हुँदा पनि कम्पनीको सही प्रतिनिधि आएर मतदान गर्ने र स्वच्छ निर्वाचन हुने हो भने जो कोही सक्षम व्यक्ति निर्वाचित हुनमा त कसैको विमति हुन सक्छ ररु तर, प्रोक्सी बाकेर प्रतिनिधि भनेर २०/३० जनाले भोट हालेर नेतृत्व चयन गर्ने परिपाटी कुनैपनि हालतमा संस्थाले राम्रो नेतृत्व पाउन सक्दैन । संस्था नै डुब्नबाट कसैले बचाउन सक्दैन ।
अन्त्यमा थप केही भन्न चाहानुहुन्छ ?
नेतृत्वमा म नै हुनुपर्छ भन्ने होइन, सही निर्वाचन र मतदानबाट आउनुभएका सही व्यक्तिले नेतृत्व लिन सफल भएमा त्यो संस्थाका लागि फलदायी हुनेछ । यो क्षेत्रको समस्या बुझेको, समाधान दिनसक्ने र विभिन्न संघ संस्थाहरु, सरकार, सरोकारवालाहरु संग समन्वय गर्नसक्ने उर्जा उत्पादनहरुको हितका लागी पर्ने व्यक्ति नेतृत्वमा पुग्नुपर्छ भन्ने मेरो मान्यता छ र मतदाताले त्यसरी नै मूल्याङ्कन गर्नुहुनेछ । मतदाताले पनि सही नेतृत्व छान्ने प्रयास गर्न सक्नुहोस् । कम्पनीका वास्तविक प्रतिनिधिहरुले आपmनो भोट दिएर सही नेतृत्व चयन गर्नु नै आजको आवश्कता हो । जय इपान !
FACEBOOK COMMENTS