काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् ।
आज सामाजिक सञ्जालमा लेख्दै उनले भने, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”
आज बिहान ६ः५० बजे चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । त्यसको धक्का काठमाडौं उपत्यकासहित, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो ।
भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।
यस्तै चीनका साथै भारत, बंगलादेश, भुटानमा समेत धक्का महशुस भएको छ ।
FACEBOOK COMMENTS