एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको विरोधमा शनिबार दशौं हजार मानिसले प्रदर्शनमा सहभागिता जनाउने सूचना आफुहरूले पाएको सियोल प्रहरीले जनाएको छ ।
सियोल महानगर प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शनिबार शहरको केन्द्र र येओइदो क्षेत्र (सियोलमा) मा दशौं हजार सहभागीहरू सम्मिलित ठूलो मात्रामा भेला र प्रदर्शन हुने सूचना प्रहरीले प्रप्त गरेको छ । स्थितिलाई गम्भीर हुन नदिन र सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै प्रशासनले केही सडकहरूमा आवत जावतमासमेत प्रतिबन्ध लगाएको छ ।”
कोरियन नेशनल प्रहरीका एक प्रवक्ताले एएफपीलाई बताएअनुसार आयोजकले ‘करिब दुई लाख’ मानिस उपस्थित गराउने बताएका छन् । युनले मङ्गलबार अबेर राति सैनिक शासनको घोषणा गरेको थियो भने उक्त कदमको विरोधमा हजारौँले प्रदर्शन गरेपछि कोरियाली संसदमा भएको निर्वाचनमा सांसदहरूले राष्ट्रपतिको उक्त घोषणा उल्टाउने पक्षमा मतदान गरेका थिए ।
विपक्षीहरूले महाभियोग प्रस्ताव अघि सारेका छन् जुन शनिबार अबेर मतदान हुने तय भएको थियो, जबकि युनको आफ्नै पार्टीका प्रमुखले शुक्रबार उनलाई पदबाट हटाउन माग गरेका थिए।
FACEBOOK COMMENTS